
काठमाडौं,३१साउनः नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कांग्रेसको १५ औँ महाधिवेशन गर्न दबाब दिनको लागि दिनहुँ सामाजिक सञ्जालमा लेख्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसका नेताहरुबीच सहमति, सहकार्य र एकता सभापतिले नै सुरु गर्नुपर्ने बताए।
उनले भने, ‘हामी अधिवेशनको संघारमा छौँ। १५ औँ महाधिवेशन कहिले हुन्छ आजै भन्नसक्ने अवस्था छैन। तर छिटो भन्दा छिटो महाधिवेशन नभए कांग्रेस कमजोर हुँदै जान्छ। कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ। लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ। त्यसैले तपाईँहरूले हरेक दिन समयमै महाधिवेशन हुनुपर्छ भनेर लेख्न थाल्नुस् त्यति भएपछि शेरबहादुरजीलाई पुग्छ भन्ने लाग्छ।’
उनले २०८४ पछि महाधिवेशन गर्ने भन्ने कुरा पनि सुनिन थालेको भन्दै यसरी पार्टी नचल्ने बताए। कांग्रेसको अनुशासन समिति पनि गुटमा फसेको भन्दै उनले नोट अफ डिसेन्टलाई समेत नमानेको बताए।उनले भने, ‘यसरी पार्टी चल्न सक्दैन। त्यसैले कांग्रेसलाई एक ढिक्का बनाएर लानको लागि १५ औँ महाधिवेशन समयमै हुन जरुरी छ।’साभारःनेपालप्रेस

