काठमाडौं,५माघ :राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए ।
झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग चुनावी प्रतिस्पर्धा गर्नका लागि बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए ।आइतबार पदबाट राजीनामा दिएलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए । त्यहाँ उनले वरिष्ठ नेताको पदभारग्रहण गरे ।
त्यसपछि आइतबार नै उनी जनकपुर गएका थिए । हवाइमार्गबाट जनकपुर पुगेका उनले त्यहाँ सोमबार आयोजित पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेका छन् ।
बालेन झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा समेत अघि सारेको छ ।

