काठमाडौं,३०पुसःनेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा पक्ष)ले महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।
बुधबार अपरान्ह पार्टी कार्यालय सानेपामा बसेको देउवा र शेखर कोइरनानला पक्षको केन्द्रीय समिति बैठकले थापा र शर्मालाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ पार्टीबाट ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । थापा र शर्मासंगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट निष्काशन गर्ने निर्णय केन्द्रिय समिति बैठकले गरेको कांग्रेस नेता कुन्दनराज काफ्लेले जानकारी दिए ।
पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई संस्थापन पक्षले बेवास्ता गरेको भन्दै महामन्त्रीद्वय थापा र शर्मालले पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन आह्वान गरेका थिए ।
विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।
पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । मंगलबार नेताहरूले तीन चरणमा छलफल गरेका थिए । आज (बुधबार) बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त छलफलले पनि निकास निकाल्न सकेन ।

