वीरगन्ज,२४पुसःघीउको ग्यालेनभित्र चरेस लुकाएर भारत तस्करी गर्ने दुई जना पर्सामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मुर्ली घर भएका २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका वडा नम्बर. ८ जगतपुर घर भएका ५५ वर्षीय मुनिलाल पटेल रहेका छन् ।
पर्साको बिन्दबासिनी गाँउपालिका वडा नम्बर २ गर्दौल चोकभन्दा पूर्व पोखरिया जाने सडकबाट ती दुवैजनालाई प्रहरीले लागू औषध चरेस २२ केजीसहित पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा बिहीबार बिहान इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले गर्दौ चोकको सडकमा २ वटा कालो झोला बोकेर जाँदै गरेका अली र पटे्ललाई रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा ती दुवै जनाले बोकेको कालो झोला भित्र राखिएको पानी खाने १० लिटरको ग्यालनको बिर्को खोलेर हेर्दा उक्त ग्यालनको मुखमा घिउ रहेको र घीउ मुनि चरेस लुकाएर राखिएको अवस्थामा भेटिएको थियो ।
अलीले बोकेको ग्यालेनबाट १० किलो ६०० ग्राम र पटेलले बोकेको ग्यालेनबाट ११ किलो ४०० ग्राम चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।चरेससहित नियन्त्रणमा लिइएका अली र पटेललाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कार्कीले बताए ।

