वीरगन्ज,१८पुसःवीरगन्जमा सडकका छाडा कुकुर (सामुदायिक कुकुर) हरु बस्नका लागि अस्थायी घर `डग हाउस´को व्यवस्था गरिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा वडाध्यक्ष सुशील साह कानुको अग्रसरतामा अहिलेको चिसो र शीतलहरले प्रभावित भइरहेका सडकका कुकुरहरूलाई बस्नका लागि वडा नम्बर १० का विभिन्न स्थानमा कुकुर बस्ने घरहरूको व्यवस्था गरिएको हो ।
शुक्रबार मात्रै वडाका विभिन्न ५ स्थानमा काठकाे घर `डग हाउस´ बनाएर त्यसमा न्यानोका लागि जुटको बोराभित्र पराल भरेर कुकुरहरुलाई बस्ने व्यवस्था गरिएको वडाध्यक्ष कानुले बताए ।एक हप्ता भित्र वडाका थप १० स्थानमा पनि सडकका कुकुरहरुका लागि डग हाउसहरु राखिने उनले बताए ।
त्यसका लागि दाताहरुबाट थप सहयोग जुटाउने काम भइरहेको उनले बताए । कानुले भने,‘अहिलेको चिसो र शीतलहरमा मान्छे मात्र नभई सडकका कुकुृरहरुपनि प्रभावित भएको देखेपछि माया लाग्यो । अनि केहि दाताहरुलाई अनुरोध गरे । उहाँहरुले कुकुरहरुलाई न्यानो पारेर बस्नका लागि आवश्यक सहयोग गर्न राजी हुनुभयो ।’ उनका अनुसार, एउटा डग हाउसमा ३ देखि ५ वटा कुकुर बस्न सक्नेछन् ।
यसअघि गत वर्षकाे पुसकाे शितलहरका बेलामा पनि वडाध्यक्ष कानुले आफ्नो निजी खर्च र विभिन्न दाताहरुबाट सहयाेग लिएर वडा नम्बर १० का विभिन्न १० स्थानमा सडकका कुकुरहरुका लागि डग हाउस बनाएर राख्न लगाएका थिए।
वडाध्यक्ष कानुका अनुसार, वडा नम्बर १० मा मात्रै २ सय भन्दा बढीको संख्यामा सडक कुकुर रहेका छन् । सडकका कुकुरहरुको बास व्यवस्थापनका लागि आवश्यक सामग्री दाताहरुबाटै सहयोगका रुपमा संकलन भइरहेको भन्दै उनले भने,‘यसमा वडा कार्यालयले आफ्नो बजेट खर्च गरेको छैन। मैले आफ्नो निजी खर्च र मनकारी दाताहरुबाट सहयाेग जुटाएर डग हाउस राख्ने गरेकाे छु ।’
सडकका कुकुर पनि मानिस जस्तै प्राणी भएको भन्दै उनले चिसो र शीतलहरको मौसममा जाडोले उनिहरुको अवस्था दयनिय देखिएकाले आफुले उनिहरुको लागि न्यानो बासको व्यवस्थापनका लागि गत वर्षदेखि नै अभियान थालेको बताए ।
यसका साथै चिसो र शीतलहरले जनजविनसमेत प्रभावित भएपछि वडा नम्बर १० का विभिन्न स्थानमा गत सातादेखि दाउरा खसालेर आगो ताप्ने व्यवस्थापनि मिलाइएको वडाध्यक्ष कानुले जानकारी दिए ।

