माधुरी महतो
वीरगन्ज,१३पुसःवीरगन्ज नाकाबाट एक वर्षमा मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेका १६३ जनालाई माईती नेपालले उद्धार गरेको छ ।
आइतबार वीरगन्जको होटल गटे वे वीरगन्जमा पत्रकार सम्मेलन गरेर माइती नेपालले गत जनवरीदेखि डिसेम्बर महिनासम्म १ वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेका १६३ जनालाइ उद्धार गरिएको जनाएको हो ।
उद्धार गरिएकामध्ये ४० जना १८ वर्ष मुनिका बालबालिका रहेका छन् भने १२३ जना १९ वर्षभन्दा माथिका वयस्कहरू रहेका माईती नेपाल वीरगन्जकी संयोजक गोमा पौडेलले जनाइन्् । उद्धार गरिएका मध्ये १३० जनालाई विभिन्न प्रलोभन र बहानामा भारततर्फ लैजान लागिएको अवस्थामा उद्धार गरिएको पौडेलले् जानकारी दिइन् । जसमध्ये भारत घुम्न जाने बहानामा १३ जना , काम गर्न जाने प्रलोभनमा ६ जना , आफन्त भेट्न जाने बहानामा ६ जना ,बिहे गरी जाने वा प्रेम सम्बन्धका कारण जान लागेका ३६ जना , उपचारका लागि जाने बहानामा ६ जना रहेका छन् ।
यसका साथै, घरायसी झै झगडाका कारण वा घर छोडेर हिँडेकाहरुलाई पनि सीमा नाकामा फेला पारी उद्धार गरिएको माईती नेपालको तथ्यांकमा उल्लेख छ ।
उद्धार गरिएका १६३ मध्ये १३७ जनालाई उनीहरूको परिवारसँग पुनर्मिलन गराइएको छ भने १७ जनालाई थप सहायताका लागि माईती नेपालको केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको भन्दै पौडेलले हाल ७ जना अझै पनि माइती नेपाल वीरगन्जकै संरक्षण गृहमा रहेको बताइन््।
पत्रकार सम्मेलनमा पौडेलले सीमा क्षेत्रमा मानव बेचबिखन रोक्नका लागिमात्र यस उक्त अवधिमा २० हजार २३९ वटा सवारी साधनहरू जाँच गरिएको बताईन् ।
संस्थाका अनुसार, पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी वैदेशिक रोजगारी र प्रेमको बहानामा महिला तथा बालबालिकालाई सीमा पार गराउने गिरोह सक्रिय रहेकाले अभिभावक र स्थानीय प्रशासन थप सतर्क हुनुपर्ने देखिन्छ।
माइती नेपाल वीरगन्जका अनुसार, विगत पाँच वर्षको अवधिमा वीरगन्ज नाका क्षेत्रबाट मात्रै ७९९ जना महिला तथा बालबालिकालाई बेचबिखनको जोखिमबाट जोगाइएको माईती नेपालले जनाएको छ।
यस्तै, भारतका विभिन्न स्थानहरू (रक्सौल, छपरा, सिवान, मोतिहारी आदि) बाट १६० जना नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याइएको तथ्याङ्कले देखाउँछ। अन्य निकायहरूको समन्वयमा बेवारिसे अवस्थामा फेला परेका ४३२ जनालाई पनि फेला पारी संरक्षण दिइएको पौडेलले जानकाररी दिईन् ।
सीमा क्षेत्रमा रोकी गृहमा ल्याइएका १२८ जनाको सुक्ष्म अध्ययन गर्दा सबैभन्दा बढी मधेस प्रदेशका ५० जना रहेका छन्। बागमती प्रदेशका २९ जना , कोशी प्रदेशका १६ जना , गण्डकी र लुम्बिनी प्रदेशका १३÷१३ जना , कर्णाली प्रदेशका ५ जना जना सुदूरपश्चिम प्रदेश २ जना रहेका छन् । जातीय आधारमा हेर्दा उद्धार गरिएकामध्ये ५४ जना जनजाति, १८ जना दलित, ३० जना अन्य जातजाति र २ जना नेवार समुदायका रहेका छन्।
तथ्याङ्क अनुसार विगत ५ वर्षमा यौनजन्य हिंसा र मानव बेचबिखनसँग विभिन्न मुद्दाहरू समेत दर्ता भएका छन् । यस अन्तर्गत जबरजस्ती करणीका ४८ वटा मुद्दा दता , मानव बेचबिखनका १३ वटा , खोजतलास निवेदनका २०८ वटा (जसमध्ये ९४ जना फेला परेका तथा लैङ्गिक हिंसाका ९७ वटा उजुरी परेको जनाईएको छ ।
उद्धार गरिएकाहरूलाई तत्काल राहत र सुरक्षित बासस्थानका लागि ’आवाधिक गृह वीरगञ्ज’ मा राख्ने गरिएको छ। ५ वर्षमा कुल १,३३९ जनाले उतm गृहमा संरक्षण प्राप्त गरेका छन्।
सिमामा अनुगमनको क्रममा चेकजाँचमा बेला बेलाामा अभिभावकबाट नै हैरानी गाली गलौज खेप्नुपरेको , तेश्रो देश जानेहरु राहदानी अरुकै हातमा पठाई सिमापार बजार गर्न जान लागेको बाहाना बनाउने , पुर्वमा आर्केष्ट्रा र पश्चिममा नेटवर्किंंगको बाहानामा धेरै जसो मानिसहरु सीमामा कडाइ गरिए तापनि लुकिछिपी हुने ओसारपसार अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरू बताउँछन्। विशेष गरी बारा र पर्सा जिल्लालाई केन्द्रित गरी खोजतलास र जनचेतनामूलक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउनुपर्ने माईती नेपाल वीरगन्जकी संयोजक पौडेलको भनाई छ ।

