वीरगन्ज,८ पुसः पर्सा जिल्लामा केहि समय रोकिएर सोमबारदेखि फेरि सुरु गाँजा खेती नष्ट गर्ने नेपाल प्रहरीको अभियानले मंगलबारपनि निरन्तरता पाएको छ ।
मंगलबार बिहान प्रहरीले बहुदरमाई नगरपालिका वडा नम्बर १ मा अवैध रुपमा लगाइएको डेढ कठ्ठा क्षेत्रफलको गाँजा खेती फडानी गरेर नष्ट गरेको हो ।ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक प्रदिप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले डेढ कठ्ठा क्षेत्रफलमा लगाइएको करिब १ हजार वटा गाँजाको बोट फडानी गरेर नष्ट पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्लाको विभिन्न स्थानमा लुकीछिपी अवैध रुपमा गरिएको गाँजा खेती जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी कार्यालय र चौकीमार्फत अभियान नै चलाएर नष्ट गर्दै आइरहेकोमा केहि महिना यतादेखि उक्त अभियान रोकिएको थियो ।
तर जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रुपमा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक आए यता सोमबारदेखि फेरि उक्त अभियान सुरु गरिएको हो ।यसैक्रममा सोमबार जिराभवानी गाँउपालिका र पटेर्वा सुगौली गाँउपालिकामा गरी करिब साढे ३ कठ्ठामा लगाइएको गाँजाखेती प्रहरीले फडानी गरेर नष्ट गरेको थियो।
सोमबारदेखि सुरु गाँजा खेती फडानी र नष्ट अभियान निरन्तर जारी रहने पर्साका प्रहरी उपरीक्षक पाठकले बताए । त्यसका लागि जिल्लामा रहेका मातहतका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइसकिएकोपनि उनले बताए ।जिल्लाको कुनैपनि स्थानमा कसैलेपनि गाँजाको खेती गरेको भए सूचना दिएर प्रहरीलाई सहयोग गर्न पर्साका प्रहरी उपरीक्षक पाठकले जिल्लाबासीसंग सार्वजनिक अपिल नै गरेका छन् ।

