वीरगन्ज,७पुसःपर्सा क्षेत्र नम्बर ३ का पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरिसहितका नेताहरु एमाले त्यागेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि त्यस क्षेत्रका पूर्व सांसद तथा पूर्वमन्त्री राजकुमार गुप्ताले कटाक्ष गरेका छन् ।
सोमबार पर्सा क्षेत्र नम्बर ३ (ख) का पूर्व प्रदेशसभा सदस्य गिरि,बिन्दवासिनी गाँउपालिकाका पूर्वअध्यक्ष श्रीलाल साह कानु (मोदी),पूर्व वडाध्यक्ष तथा एमाले पर्साका सचिवालय सदस्य हनिफ मियाँ अन्सारी,एमाले जिल्ला सदस्य तथा पूर्व वडाध्यक्ष सन्जय चौहान, एमालेकै बिन्दवासिनी गाँउपालिका कमिटी उपाध्यक्ष मुकेश चौरसिया , एमाले जिल्ला सदस्य गजारी साह तेली लगायतका नेताहरु प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
उनिहरु एमाले छाडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको खबर सार्वजनिक भएलगत्तै पर्सा क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा एमालेका पूर्वकेन्द्रिय सदस्य गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट लेख्दै ती नेताहरुप्रति कटाक्ष गरेका हुन् ।
नेकपा एमालेलाई हात्ती पार्टीको संज्ञा दिदैं गुप्ताले एकाध उपियाँ अन्त जाँदैमा हात्ती पार्टी एमालेलाई कुनैपनि फरक नपर्ने बताएका छन् । उनले भनेका छन्,‘ १० जना जान्छन्, तर हजार जना पार्टीमा आउँछन् । कोहि आत्तिनु पर्ने र निरास हुनुपर्ने जरुरी छैन ।
फेसबुक पोष्टमा पूर्वमन्त्री गुप्ताले लेखेका छन् :‘एमालेको कारण प्राप्त पहिचान भुल्ने कल्पना पनि गरिन्न, भ्रमको खेतिले कोहि हल्लिन्न ।म विद्यार्थी जीवनदेखि नै नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गरेको व्यक्ति हुँ। यही यात्रा क्रममा विभिन्न सम्मानजनक पद र जिम्मेवारीमा पुग्ने अवसर पाँए।बाहिर जे जस्ता कुप्रचार गरिएपनि, मेरो राजनीतिक आस्था र प्रतिबद्धता नेकपा एमालेमै अडिग छ। एमाले बाहेक अन्य कुनै दलको परिकल्पना म गर्न सक्दिन । तत्काल स्वार्थको लागि कोहि कसैले बाटो बिराए पनि घर फर्क अभियानमा बिराम लाग्दैन ।सँगै बस्ने सुबिधा लिने अनि भने जति भएन भने पार्टी बदल्ने पर्सेली राजनीतिको परम्परामा अब कोहि लाग्दैन । अनि सतिसाल जस्तो उभिएको मेरो निष्ठामा कसैले औंला देखाएमा त्यो के होला सोच्नु होला ।एमाले हात्ती हो ,एकाध उपियाँ टोक्दै सर्दै गर्दा असर पर्दैन ।१० जान्छन्,हजार जना आउँछन, यो पर्सा एमालेको इतिहास हो । कोहि आत्तिने र निरास हुन जरुरि छैन ।’

