वीरगन्ज,६पुसःवीरगन्ज–रक्सौल रुटमा चल्ने यात्रुवाहक ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरुसंग सशस्त्र प्रहरीले अन्तरकृया गरेको छ ।आइतबार बिहान करिब १ सय जना ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरुलाई भेला पारेर सशस्त्र प्रहरीले उनिहरुसंग सीमा सुरक्षा,सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा अन्तरकृया गरेको हो ।
कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणमा ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरुको सहयोग महत्वपूर्ण रहेको बताए । भट्टले सीमा सुरक्षा सुदृढ गर्न स्थानीय नागरिक, विशेषगरी ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरुको सहकार्य अपरिहार्य रहेको बताए।
ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरु दैनिक रूपमा सीमा क्षेत्रमा आवतजावत गर्ने भएकाले कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन उनले आग्रहपनि गरे।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले सुरक्षा निकाय र नागरिकबीच आपसी विश्वास र सहकार्य बढाउन यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।उनले समुदायको सक्रिय सहभागिताले मात्र दिगो शान्ति र सुरक्षा सम्भव हुने धारणा व्यक्त गरे।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक पुरषोत्तम भण्डारी,सञ्चारकर्मी अभिलाष गुप्ता लगायतकाकोपनि सहभागिता रहेको थियो।

