वीरगन्ज,२८मंसिर:नेपाल प्रहरीका प्रहरी बरिष्ठ नायब निरीक्षक(सई) सागर शम्सेर राणा फेरि उत्कृष्ट प्रहरी कर्मचारीका रुपमा पुरस्कृत भएका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै राणालाई मंसिर महिनाको उत्कृष्ट प्रहरी (`पुलिस अफ मन्थ´) घोषित गर्दै पुरस्कृत गरेको हाे।
जिल्ला प्रहरी कार्यालय धनुषाकाे अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको दरबन्दी भई प्रहरी चौकी जनकपुरधाममा कार्यरत बरिस्ठ सई राणाले गम्भीर प्रकृतिका अपराध अनुसन्धान तथा अभियुक्त पक्राउमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
गत कात्तिक २८ गते धनुषाकाे मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न १२ जनामध्ये चार जनालाई पक्राउ गर्न राणाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका–११ मा भएको जबर्जस्ती करणीसम्बन्धी घटनामा संलग्न अभियुक्तहरूलाई विभिन्न स्थानबाट पक्राउ गर्न उनी सफल भएका थिए।
यसका साथै जनकपुरधाम–१० स्थित एक होटलमा नाबालिकालाई बलात्कार गरिएको घटनामा संलग्न फरार प्रतिवादीहरूलाई पनि उनले सक्रिय अनुसन्धानमार्फत पक्राउ गर्न सहयोग पुर्याएका थिए।
प्रहरी कार्यालय दिएको जिम्मेवारी उच्च व्यवसायिकता, इमान्दारिता र कुशलताका साथ निर्वाह गरी प्रहरी संगठनको छवि उकास्न उल्लेखनीय योगदान पुर्याएको ठहर गर्दै राणालाई मंसिर महिनाकाे `पुलिस अफ द मन्थ´ घाेषित गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका पप्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए।
यसअघि राणालाई गत असार महिनामा पनि जिल्ला प्रहरी कार्यालय धनुषाले उत्कृष्ट प्रहरी अर्थात `पुलिस अफ द मन्थ´ घोषित गर्दै पुरस्कृत गरेको थियाे ।

