काठमाडौँ,१९मंसिरः मधेस प्रदेशमा अझै नयाँ मुख्यमन्त्रीको विषय टुङ्गिन सकेको छैन । कांग्रेस संसदीय दलका नेता कृष्ण यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनल आ–आफ्नो अडान नछाडेपछि मुख्यमन्त्रीको टुङ्गो नलागेको हो ।
मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाल लाभले सरकार गठनका लागि आज (शुक्रबार) साँझ ५ बजेसम्मको समय दिएका छन् । एमाले संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्रीबाट राजीनामा दिइसकेपछि कांग्रेस, जसपा नेपाल, माओवादी, नेकपा (एस), लोसपा, जनमत लगायतका दलहरू मुख्यमन्त्री चयनका लागि हिजैदेखि छलफलमा छन् ।
तर यादव र सोनलको अडानका कारण सहमति बन्न सकेको छैन । अहिले पनि दलहरू समूह समूहमा छलफल गरिरहेका छन् । कांग्रेसका नेता यादवले आफूले मुख्यमन्त्री पद नपाए विपक्षमा बस्ने चेतावनी दिइसकेका छन् । ‘ठुलो दलको नाताले हामीले मुख्यमन्त्री पाउने हो, यदि हाम्रो दलले मुख्यमन्त्री नपाए विपक्षमा बस्छौँ’ उनले चेतावनी दिँदै भने ।
स्रोतका अनुसार एमालेले कांग्रेसलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको छ । कांग्रेस र एमाले मिलेपछि मुख्यमन्त्री बनाउन ९ सिटको मात्र आवश्यकता पर्छ । एउटा कुनै दललाई साथमा लिन सके कांग्रेस र एमालेको सरकार नै बन्न सक्ने देखिन्छ । यसबाट अन्य दलहरू डराएका छन् ।
कांग्रेस, एमाले बाहेकका ६ दलको ५१ वटा सिट मात्र पुग्छ । सरकार बनाउनका लागि ५४ सिट चाहिन्छ । कांग्रेसले गठबन्धन छाडेपछि ६ दललाई सरकार बनाउन गाह्रो हुने देखिएको छ । कांग्रेसको मुख्यमन्त्री नपाए विपक्षमा बस्ने चेतावनी पछि मधेसवादी दल गम्भीर भएका छन् ।
जसपा नेपालका एक प्रदेश सांसदले भने–‘हामी चाहन्छौँ कुनै मधेसवादी दलकै तर्फबाट मुख्यमन्त्री बनोस्, त्यसमा हामीले लोसपालाई समर्थन गरेका छौँ, त्यसमा माओवादी, नेकपा (एस)ले पनि साथ दिएका छन् तर कांग्रेसलाई साथमा नराखी सरकार बनाउन गाह्रो देखिएको छ, तैपनि लोसपाबाट नै मुख्यमन्त्री बनाउने प्रयास भइरहेको छ ।’
लोसपा नेपालका सोनल मुख्यमन्त्रीका दाबेदार हुन् । कांग्रेसले आफ्नो अडान नछाडेपछि उनलाई मुख्यमन्त्री बनाउन गाह्रो हुने देखिएको छ । एमालेले कांग्रेसलाई साथ दिए सिके राउत नेतृत्वको जनमत पार्टीले पनि साथ दिने सम्भावना देखिएको कांग्रेसका एक नेताले बताए ।साभारःरातोपाटी

