
बारा,१७मंसिर:भारतसँग सीमा जोडिएका बाराका नाकाहरूमा पनि विशेष सतर्कता अपनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले भारतसँग सीमा जोडिएका नाकाहरूमा विशेष सुरक्षा सतर्कता अपनाइएकाे जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले सीमा क्षेत्रमा विशेष सर्तकता अपनाउनका लागि जिल्लाका सुरक्षा निकायहरूलाई पत्राचार गरेकाे छ।
भारतीय भूमी हुँदै तेश्रो मुलुकका नागरिकहरू घुसपैठ गर्दै नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाका सबै सुरक्षा निकायहरूलाई सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन परिपत्र गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
बाराको ६० किलोमिटर भूभाग भारतसँग जोडिएको र त्यहाँ ९० वटा प्रवेश विन्दूरुको पहिचान गरिएको बारा प्रशासनले जनाएको छ । ‘हाम्रो भारतसँग जोडिएको ६० किलोमिटर क्षेत्रमा ९० वटा सीमा वारपार गर्न मिल्ने विन्दु छन्,’ भट्टराईले भने ।
उनका अनुसार सबै ठाउँमा विशेष निगरानी सुरु गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका पोस्टहरूलाई विशेष निगरानी गर्न निर्देशन दिइएको छ । बाराको सिम्रौनगढ नाकामा केही शंकास्पद मानिसहरूको गतिविधि देखिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

