वीरगन्ज,१६मंसिर:नेकपा एमालेकी नेतृ तथा मधेस प्रदेश सभा सदस्य बिना शर्मा मारवाडीले पैसाको चलखेल गरेर पर्साबाट एमालेकाे ११औँ महाधिवेशनको प्रतिनिधि छनोट गरिएको गम्भीर आरोप लगाएकी छिन्।
उनले पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा पैसाको चलखेल गरी प्रतिनिधि छनोट भएकोले ११औँ महाधिवेशन दुर्घटनामा पर्ने संकेत देखिएको आरोप लगाएकी हुन् । पदमा बसेका जिम्मेवार नेताहरू नातावाद र कृपावादमा लागेकाले उनीहरूबाट पार्टीलाई क्षति पुग्ने उनले बताइन् ।
यस्तै, पर्सा क्षेत्र नम्बर ४ मा पनि एमालेको महाधिवेशन प्रतिनिधि छनोट विवादमा परेको छ । मधेस प्रदेश कमिटी सचिवालय सदस्य तथा संविधान सभा सदस्य जयप्रकाश थारूले सार्वजनिक प्रतिनिधि सूचीप्रति असहमति जनाएका छन् । महाधिवेशन प्रतिनिधिका लागि १४ जनाको उम्मेदवारी परेको र निर्वाचन अधिकृतले समेत १७ मंसिरमा निर्वाचन गर्ने सूचना प्रकाशित गरिसकेको अवस्थामा सूची सार्वजनिक गरिनु आपत्तिजनक भएको थारूले बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा ११ मंसिरमा हामी उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थियौँ। तीनवटा क्लस्टरका लागि १४ जना उम्मेदवार मनोयन दर्ता गराएका थियौँ। दलित ३ वटा क्लस्टरका लागि ४ जनाको उम्मेदवार मनोनयन दर्ता भएको छ । निर्वाचन प्रमुख केशव शर्मा सरसँग उम्मेदवारहरूले छलफल गरी सहमतिअनुसार १७ मंसिरमा निर्वाचन प्रक्रियामा जाने तय भएअनुसार निर्वाचन प्रमुखले सूचना पनि प्रकाशन गरिसक्नुभएको छ । हामीहरूले आफ्नो उम्मेदवारी मनोयन दर्ता फिर्ता पनि लिएका छैनौँ। तर, एकाएक सामाजिक सञ्जाल फेसबुकमा सहमतिबाट प्रतिनिधि छनोट भएको सूची देख्दा अश्चार्य लागेको छ। यसमा मेरो घोर आपत्ति छ। कुनै पनि हालतमा हामाीलाई स्वीकार्य छैन।साभार:नयाँपत्रिका

