वीरगन्ज,१२मंसिरःवीरगन्जमा भारतको महावाणिज्य दूतावासको आयोजनामा गीता महोत्सव भव्य र उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। सांस्कृतिक विविधता, आध्यात्मिकता र दुई देशबीचको मैत्री सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित वीरगन्जस्थित महावाणिज्य दूतावास परिसरमै आयोजना गरिएको थियो।
कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीनाले गीता महोत्सवले भगवद् गीता केवल धार्मिक ग्रन्थ मात्र नभई मानव जीवनलाई सही दिशा दिने एक सार्वभौमिक मार्गदर्शक भएको बताए । महाभारतको भीषण युद्धभूमिमा अर्जुन र भगवान् श्रीकृष्णबीच भएको संवादका रूपमा प्रस्तुत गीता आज पनि उस्तै सान्दर्भिक, जीवन्त र प्रेरणादायी रहेको भन्दैउनले समय, भूगोल र संस्कृतिको सीमा नमान्ने गीता शास्वत सत्य, कर्तव्य, नैतिकता र मानव धर्मका गहन सिद्धान्तहरूको जीवन्त पाठशालापनि भएको बताए।
भारत–नेपालको सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक सम्बन्धको जरा अत्यन्त गहिरो रहेको भन्दै उनले गीता दुवै देशका जनमानसमा साझा आस्था तथा प्रेरणाको स्रोत बनेको बताए।
उनकै अध्यक्षतामा भएको कार्यक्रममा दूतावासका वाणिज्यदूत मनिष दास,दूतावासका अधिकारीहरू, विभिन्न सामाजिक–सांस्कृतिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिहरू र गीता सन्देशसम्बन्धी प्रवचन पनि गरिएको थियो ।

