Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको ग्रामीण भेगमा अनुचित आर्थिक लाभमा प्रहरी परेपछि तस्करहरुको रजगज

प्रमोद यादव

पर्सा,१२मंसिरःपर्साको ग्रामीण भेगमा रहेका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु लागूऔषध र अवैध काठको तस्करी र भारतबाट राजश्व छलेर भित्र्याने तस्कर (काराबारी)हरुसंग आर्थिक लाभ लिएर तस्करीलाई बढावा दिएको आरोप लागेको छ ।

ग्रामीण भेगमा रहेका नेपाल प्रहरीका कार्यालयका इन्चार्जहरुले सादा पोशाकमा खटाएका घुमुवा प्रहरीहरुले तस्करहरुसंग रकम असुल्दै तस्करीलाई संरक्षण दिदैं आएको आरोप लागेको हो ।

नेपालबाट पर्साको ग्रामीण भेगका सीमा नाका हुदैं गाँजा , चरेस लगायतका लागू औषध र काठ भारत तस्करी हुदैं आएको छ भने भारतबाट किराना, लत्ताकपडा, हार्डवेयर, मरमशाला, भाँडावर्तन लगायतका सामग्री राजस्व छलेर नेपाल भित्रिने गरेको छ ।

सीमा नाकाबाट हुने तस्करी र अवैध ओसार पसार रोकथाम र नियन्त्रण तथा शान्ति सुरक्षा कायम गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामार्फत ग्रामीण भेगका ठाँउठाँउमा प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय स्थापना गरिएका छन् ।

तर ती प्रहरी कार्यालयमा कार्यरत केहि प्रहरी कर्मचारी तस्करी रोकथाम नियन्त्रणको सट्टा अवैध कारोबारी र तस्करहरुको आर्थिक प्रलोभनमा परेर तस्करीलाई बढावा दिदैं आएको जनगुनासो छ ।

यसैक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा घुमुवाका रुपमा कार्यरत प्रहरी जवान अनिल राय यादवले पटेर्वा सुगौली लगायत त्यसआसपासका तस्कहरुसंग आर्थिक लाभ लिदैं आएको गम्भीर आरोप लागेको छ ।यादवले त्यस क्षेत्रका अवैध कारोबारीहरुसंग फरक फरक समयमा नगद १० हजार र ५ हजार रुपैयाँ लिदैं गरेको भिडियो प्रमाण नै फेला परेको छ । उक्त भिडियोमा सादा पोशाकमा रहेका यादवले एक जना कारोबारीसंग नेपाली १ हजार दरका १० थान नोट गनेरै लिएको देखिन्छ भने अर्को भिडियोमा उनले केहि रकम तस्करसंग लिएर गन्दै नगनेर लिदैं आफ्नो पाइन्टको खल्तीमा राखेको देखिन्छ ।

यसअघि पर्साको प्रहरी प्रमुख रहेका तत्काली प्रहरी उपरीक्षक गौतम मिश्रले घुस लिएको आरोपमा विवादीत भएपछि यादवलाई जिल्ला प्रहरी कार्यालयमा तानेका थिए । तर त्यसको दुई हप्तापनि नबित्दै यादव व्याक्तिगत पहुँचको आधारमा पुन ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा फर्किएका थिए ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगालीका प्रहरी निरीक्षक प्रकाश थापाको निगाहमै यादव पुन त्यहाँ फर्किएको श्रोतले जनाएको छ ।
प्रहरी जवान यादवले तस्करहरुसंग रकम लिएको भिडियोका बारे उनको प्रतिक्रिया लिन खोज्दा उनले उक्त भिडियोबारे अनविज्ञता जाहेर गरे ।उनले भने,’खै मलाई थाहा भएन कसले किन भिडियो गरेको हो, मलाइ मतलब छैन,त्यो भिडियोमा देखिएको मान्छे म होइन’ ।

यता जिल्ल प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राजु कार्कीले भने यसबारेमा तत्कालै छानबिन गर्ने बताए । आरोप लागेका प्रहरी जवानले अवैध कारोबारीसंग सांठगाँठ वा कुनै किसिमको आर्थिक लाभ लिएको पुष्टि भए तत्कालै उनिविरुद्ध कारबाहीको प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले भने, गलत गर्ने , संगठनलाई बदनाम गर्ने कसैलाई पनि छुट छैन । यदि गलत गरेको पुष्टि भयो भने उनिविरुद्ध कारबाही हुन्छ ।

यस्तै पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले पनि प्रहरी संगठनलाई बदनाम गर्ने काम प्रहरी संगठनका कुनैपनि कर्मचारीबाट भए त्यो क्षम्य नहुने बताए । उनले पर्सा जिल्लाम आँफु आए यता तस्करी, अवैध काराृेबार रोकथाम र नियन्त्रणमा आँफु लागि परेको जिकिर गरे । उनले भने, प्रहरी जवान यादवविरुद्ध यदि कुनै प्रमाण भेटियो भने एक मिनेटपनि ढिला नगरी कारबाही गर्छौ ।

Related posts

पर्सामा ट्रयाक्टरको टेलरमा मोटरसाइकल ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु

MadhesKhabar

नवनियुक्त कानुनमन्त्री अजय चौरसिया : २३ बर्षपछि फेरि पाए मन्त्री बन्ने अवसर

MadhesKhabar

बिपद पुर्वतयारी बारे पालिका स्तरीय ३ दिने कार्यशाला गोष्ठी वीरगन्जमा सुरु

MadhesKhabar

Leave a Comment