Madhes Khabar
स्थानिय हेडलाइन

मकवानपुर र धादिङको गाँजा–चरेस पर्सालाई ट्रान्जिट बनाएर भारतमा तस्करी

फाइल तस्बिर ।

प्रमोद यादव
पर्सा,६मंसिरः मकवानपुर र धादिङ जिल्लाका पहाडी भेगमा उत्पादित लागू औषध गाँजा चितवन र पर्सा राष्ट्रिय निुकुञ्जको जंगलको चोर बाटो हुदैं पर्सामा ल्याएर भारतमा तस्करी गर्ने क्रम अझै रोकिएको छैन ।

मकवानपुरको मनहरी, लोथर तथा धादिङ जिल्लाका विभिन्न पहाडी भेगमा उत्पादित गाँजा चितवन र पर्सा राष्ट्रिय निकुञ्ज तथा दुवै जिल्ला अन्तर्गत पर्ने राष्ट्रिय वन क्षेत्र हुँदै पर्साको ठोरी गाउँपालिकाको विजयबस्ती, सुवर्णपुर, बाघमोर्चा, गोपीबस्ती, गढुवालाइन लगायतका गाँउमा ल्याएर भण्डारण गरिन्छ । त्यहाँबाट ती गाँजा भारततर्फ पठाउने गरिन्छ ।

निकुञ्ज र जनता सडकबाट पटेर्वासुगौली हुँदै तस्करीको दोस्रो प्रमुख बाटो मनहरि–लोथर र निकुञ्जबाट सीधैं पर्साको पटेर्वासुगौली, सोनवर्षा, कञ्चनपुर, बैरिया, रामभौरीभाठा, पलोटाँडी, गदियानी, देकुली, देवरिया, निचुटा, मोरटोल, मलाहीटोल, मुजवनिया टोल, जीराभवानी, सखुवनिया, भवानीपुर, महादेवपट्टी र सखुवाप्रसौनी गाँउपालिकाका खजुरिया, सथवल, सखुवनिया, औराहा, पर्सागढी नगरपालिकाको मनवा, कोइलाभार, भटनी, बडेर्वा, एकटाँगा, हरपुर, बडनिहार, मिलनचोक, पचरुखीसम्मका क्षेत्रमा पनि जङ्गलको बाटो र सडकमार्गमा विभिन्न सवारीमार्फत गाँजाको कारोबार हुदैं आएको छ ।

हालै सम्पन्न छिमेकी भारतको बिहार राज्यको विधानसभा चुनाव ताका गाँजाको तस्करी रोकिएपनि अहिले फेरि शुरू भएको छ । अमलेखगन्ज–जीतपुर हुँदै जनता सडक, गण्डक, पदमरोड, वीरगंज–पोखरिया सडकमा मोटरसाइकल, जीपकार, अटोमार्फत गाँजा तस्करी हुने गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विभिन्न स्थानमा चेकजाँच कडाइ गरिरहेको भएपनि गाँजाको तस्करी पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

विजयबस्ती, सुवर्णपुर हुँदै महादेवपट्टी, बलुवा, पिडारीगुठी, पाँडेपुर, जानकीटोला, भिखमपुर, मिर्जापुर, टिहुकी, भिस्वा, पकाहामैनपुर, प्रसौनीभाठा, अमरपट्टी, अलौं भएर मोटरसाइकल, जीपकार, भ्यान र भरियामार्फत गाँजा भारत पठाउने गरिन्छ ।

पर्सा जिल्लामा गाँजाखेती हुने बेलादेखि मकवानपुर र धादिङमा उत्पादित गाँजा र चरेस पर्साका यी मार्ग भएर भारत पठाइने गरिन्थ्यो । तर त्यस बखत परिमाण कम थियो । तर विगत डेढ दशकदेखि पर्सामा नगण्यरूपमा गाँजाको खेती हुने गरेको छ । यस अवधिमा मकवानपुर र धादिङमा उत्पादित गाँजा र चरेसको माग अत्यधिक बढेको हो । यी दुई जिल्लाबाट समय अनुसार कम मूल्यमा गाँजा खरीद गरी सेटिङमा पर्सासम्म ल्याएर दोब्बर मूल्यमा बिक्री गर्नेहरू त्यसपछि भारतमा पु¥याएर चौब्बर बढी रकम कमाउँछन् ।

यसैले पनि पछिल्ला समयमा पर्साका ग्रामीण क्षेत्रमा गाँजा र चरेसको तस्करी मौलाएको छ । स्रोतका अनुसार अहिले मकवानपुर र धादिङमा तीन हजार प्रतिकिलोमा पाइने गाँजा पर्सामा ल्याएर ६ हजारमा बिक्री गरिन्छ भने भारत पु¥याएर किलोको २५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ ।

गाँजा–चरेसको तस्करी नियन्त्रण प्रहरीको उच्च प्राथमिकतामा छ– डीएसपी बस्नेत

यता पर्सामा प्रहरीले भने गाँजा, चरेससहितका लागूऔषध तस्करी नियन्त्रणमा सक्रियता बढाएको दाबी गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा गाँजा ४६७ किलो बरामद गरेको पर्सा प्रहरीले त्यहि वर्षमा चरेस ९१ किलो र खैरो हेरोइन ७६६ ग्राम बरामद गरेको थियो ।

तर चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा भने गाँजा १ हजार ५६१ किलो, चरेस ६२५ किलो र खैरो हेरोइन ३८४ ग्राम बरामद गरेको छ । प्रहरीकै अनुसार गत आर्थिक वर्ष गाँजा चरेसको तस्करीमा संलग्न १५३ जना पक्राउ परेका थिए । यसैगरी, चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ३५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले गाँजा र चरेसको तस्करी नियन्त्रणलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको बताए । उनले सीमावर्ती क्षेत्रमा प्रहरी गस्ती, चेकजाँच र निगरानीमा थप कडाइ गरिएकोपनि बताए । उनले गाँजालगायत लागूऔषधको कारोबारमा जोकोही संलग्न भएपनि उनीहरूलाई कानून अनुसार कडा कारबाही गर्दै आएकोपनि बताए ।

Related posts

वीरगन्ज सुक्खा बन्दरगाह विस्तार याेजना आठ वर्षदेखि अधुरै

MadhesKhabar

होलीको उपलक्ष्यमा अभिभावक संघले आयोजना गरेको कार्यक्रममा ७५ जनाद्वारा रक्तदान

MadhesKhabar

बारामा ५ वर्षदेखि रोकिएको जमुनी सिँचाइ योजनाकाे कामले गति लियो

MadhesKhabar

Leave a Comment