वीरगन्ज,२६कात्तिकः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले जनकपुरमा चलिरहेको ७ दलिय आन्दोलनमा दमन गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।
होटलमा मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा आन्दोलनरत ७ दलका नेताकार्यकर्ताले मंगलबार जनकपुरस्थित मधेस भवन अगाडि गरेको प्रदर्शनमा प्रहरीले अन्धाधुन्द लाठी चार्ज गर्दा १० भन्दा बढी नेताकार्यकर्ता घाइते भएका थिए ।
बुधबार अध्यक्ष ठाकुरले एक प्रेस विज्ञप्ति जारी गर्दै दमन गर्ने प्रहरीहरुलाई कारबाही गर्न सरकारसंग माग गरेका हुन् ।
ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ःसंविधानको धारा १६८ को (२) अन्तरगत सरकार गठन गर्ने विकल्पहरुको सम्भावना हुँदा–हुँदै १६८ को (३) अनुरुप प्रदेश प्रमुखको कार्यालय मधेस भवन, जनकपुरधामबाट प्रदेश सरकार गठन नगरि मधेश प्रदेश र बागमती प्रदेशको सिमा सिन्धुली जिल्ला अवस्थित होटल पानसमा गठन तथा सपथ ग्रहण कार्यक्रम चोरी–छिपी गराएको हुनाले असंवैधानिक मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा तथा पदीय मर्यादा विपरित सपथ गराउने र संविधान मिच्ने प्रदेश प्रमुख श्रीमती सुमित्रा सुवेदी भण्डारीको वर्खास्तगीको माँग गर्दै जितेन्द्र सोनलको नेतृत्वमा रहेको ७ दलिय गठबन्धनले जारी राखेको आन्दोलनमा प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरि घाईते भएका नेता तथा कार्यकर्ताहरुको शीघ्र स्वास्थ्य लाभको कामना लोसपा नेपाल परिवारले गर्दछ । साथै बर्बरतापूर्ण दमन गर्ने प्रहरीलाई कार्यवाही गर्न नेपाल सरकारसँग लोसपा नेपाल जोरदार माँग गर्दछु ।

