Madhes Khabar
धर्म/संस्कृति

छठ पर्वकाे दाेस्राे दिन आज `खरना´

फाइल तस्बिर ।

वीरगन्ज,९ कार्तिक : छठ पर्वको दोस्रो दिन आज (आइतबार )खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ विधिवत रुपमा हिजाेबाट शुरु भएको हो।

 

कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठपर्वको तराई मधेसमा यतिबेला अलग्गै रौनक छाएको छ। छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन्। जलाशयहरुलाई सिंगारिने काम भइरहेको छ।

छठपर्वको पहिलो दिन हिजाे नहायखाय विधि सम्पन्न गरिएको छ। कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन हिजाे बिहान व्रतालुहरुले बिहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्।

कात्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात पर्वको दोस्रो दिन आज खरना विधि गरिदैंछ। खरनाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर (रसियाव), राेटी ,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ।

त्यस्तै षष्ठी तिथी अर्थात पर्वको तेस्रो दिन अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ। अत्यन्तै निष्ठा र कठोर पर्वको रुपमा मानिने छठमा ब्रतालुहरु खरनाको दिनदेखि निराहार व्रत बस्छन्।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको छ ।

Related posts

बैशाखी, खालसा पंथ तथा नयाँ वर्ष !

MadhesKhabar

गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै वीरगन्जमा गृहमन्त्री विरुद्ध प्रदर्शन, ५ जना पक्राउ

MadhesKhabar

वीरगन्जको घडिअर्वामा गणेश चतुर्थी महोत्सव यसपालि पनि भव्य रुपमा मनाइने

MadhesKhabar

Leave a Comment