Madhes Khabar
अर्थतन्‍त्र

डेडिकेटेड ट्रंकलाइन बक्यौता : प्राधिकरणले जगदम्बा स्टिलसहित ६ उद्योगको विधुत लाइन काट्यो

काठमाडौं,४कात्तिकःनेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम बुझाउन पछिल्लो पटक दिएको समय आइतबार राति १२ बजे सकिएको थियो। यसअघि समय सकिएलगत्तै सबैभन्दा बढी बक्यौता रहेका उद्योगको बिजुली काट्ने गरिँदै आएको थियो।

तर यसपटक सोमबार लक्ष्मीपूजा भएकाले प्राधिकरणले बिजुली काटेन। ‘लक्ष्मीपूजा गर्न दिने भन्दै सोमबार बिजुली नकाट्ने निर्णय गरिएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले भने।

लक्ष्मीपूजा सकिएसँगै मंगलबार बिहानै प्राधिकरणले ६ वटा उद्योगको विद्युत् लाइन काटेको जनाएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको हो।

प्राधिकरणका अनुसार जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवमको ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली प्रयोग गरेबापतको थप महसुल हो।

प्राधिकरणले १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै १७ कात्तिकभित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो। बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइने उक्त सूचनामा उल्लेख छ। १३ असोजमा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन पुनः सूचना जारी गरेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए। उनले किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसुकै समयमा काटिएको लाइन पुनः जडान गरिने बताए।साभारः इकान्तिपुर

Related posts

वीरगन्जमा इभी गाडीकाे बिक्रेता शशीला माेटर्सकाे शाे रुम सञ्चालन

MadhesKhabar

विश्व बैंकको सहयोगमा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहको पूर्वाधार विस्तार हुँदै

MadhesKhabar

दुइ दिन विदा दिने सरकारी निर्णय सच्याउन वीरगन्ज उद्योग वाणिज्य संघको माग

MadhesKhabar

Leave a Comment