वीरगन्ज,१२असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीमा बेवारिसे अवस्थामा रहेकी एक गर्भवती महिलालाई उद्धार गरी मानव सेवा आश्रममा लगेर राखिएको छ ।
शनिबार राति ९ बजेतिर आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा प्रहरीसहितको टोलीले बहुअरीबाट अन्दाजी ३० वर्षकी गर्भवती महिलालाई उद्धार गरेको हो ।
नाम,थर र ठेगाना स्पष्ट रुपमा बताउन नसक्ने ती महिला बेवारिसे अवस्थामा सडकमा रहेको स्थानीयले खबर गरेपछि उनलाई थारुको पहलमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरिसहितको टोलीले उद्धार गरी मानव सेवा आश्रम वीरगन्ज शाखामा ल्याइदिएको आश्रमका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।
गुप्ताले भने, आश्रममा ल्याएपछि ती महिलाले आफ्नो नाम, थर ठेगाना स्पष्ट रुपमा बताउन सक्नु भएको छैन । अब उहाँको नारायणी अस्पतालमा लगेर गर्भावस्था लगायतबारे चेकजाँच हुन्छ । त्यसपछि मनोरोग चिकित्सक डाक्टर भरत गोइतको निगरानीमापनि उहाँको उपचार सुरु गर्छौ ।

