वीरगन्ज,११असाेज:सर्लाहीमा भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
ब्रहम्पुरी गाउँपालिका ५ स्थित हुलाकी राजमार्गअन्तर्गत पर्ने पर्सा-भेलही सडकखण्डमा शुक्रबार राति भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट ब्रहम्पुरी २ का २३ वर्षीय अङ्कित चौधरी र त्यही गाउँका २५ वर्षीय रोहित सहनीको ज्यान गएको हो।
शुक्रबार राति ९ बजेको समयमा ब्रहम्पुरीबाट पूर्वतर्फ जाँदै गरेको एमएच ०४ डिजे १२९७ नम्बरको स्कार्पियो ले विपरीत दिशाबाट आउँदै गरेको प्र.३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक चौधरी र बीचमा सवार रोहितको जनकपुरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कार्पियो ठक्करबाट मोटरसाइकलमा पछाडि सवार शिव शङ्कर पण्डित गम्भीर घाइते छन्। पण्डितको बाराकाे नाैतनस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बताए।

