Madhes Khabar
राजनीति

वीरगन्ज कृषि औजार कारखाना चलाइरहेका महावीर पुनलाई मन्त्री बन्न प्रधानमन्त्रीको अफर

वीरगन्ज,५असोजःवीरगन्ज कृषि औजार कारखाना जिम्मामा लिएर सञ्चालन गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरुसँग छलफलमा छिन् । यसैक्रममा उनले महावीर पुन र केही युवा पत्रकारहरुसँग पनि छलफल गरेकी छन् ।

छलफलका क्रममा कार्कीले महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बतायो । तर, पुनले भने स्पष्ट जवाफ दिएका छैनन् ।मन्त्री अफरबारे राखेको जिज्ञासामा पुन बोल्न चाहेनन् । उनले भने, ‘यो अहिले बोल्ने कुरा होइन ।’

जेनजी युवा आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम चुनावी सरकारमा हाल तीन जना मात्र मन्त्री छन् ।

भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरेकी छन् ।

वैज्ञानिक तथा सामाजिक अभियन्ताका रुपमा चिनिएका पुनलाई पनि सरकारमा समेट्नुपर्ने आवाज जेनजी युवा पुस्ताबाट उठिरहेको छ ।

पुनले नेपालमा पहिलोपटक ताररहित इन्टरनेट सेवा सञ्चालन गरेका थिए । यही उपलब्धिमार्फत् उनले रोमन म्यागासेसे पुरस्कारसमेत पाएका थिए ।

पुन हाल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक छन् । सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले सन् २०१२ मा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए । वर्षौंसम्म बन्द अवस्थामा रहेको वीरगन्ज कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रमार्फत् उनले चलाइरहेका छन् ।महावीर पुनले हालै आफ्नो किताब बिक्रीमार्फत् कारखाना चलाउन रकम संकलन गरिरहेका छन्।साभारःअनलाइनखबर

 

Related posts

एमाले ठोरीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

MadhesKhabar

पर्सा २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिने मुकेश द्विवेदीको घोषणा

MadhesKhabar

पार्टीका कुनै पनि गतिविधि रोकिँदैनन् :जसपा उपमहासचिव प्रदीप यादव

MadhesKhabar

Leave a Comment