वीरगन्ज,८भदौंःवीरगञ्ज महानगरको हैजा प्रभावित क्षेत्रमा खानेपानीको परिक्षण तथा शुद्धिकरणको काम तीब्र रुपमा भइरहेको छ ।हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यान सहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीब्र रुपमा पानी परिक्षणको कार्य अगाडि बढाएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।
उनले भने “आज बिहानैदेखि हैजा प्रभावित क्षेत्रहरूमा म सहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धिकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।”
वीरगन्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजारोगको सङ्क्रमण देखिएपछि मन्त्री यादव सहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक लगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको हो ।
हैजा रोगको सङ्क्रमण भेटिएको क्षेत्रमा त्यहाँको खानेपानी परिक्षण र शुद्धिकरणका लागि आवश्यक सामग्री सहितको मोबाईल भ्यान टोली तत्कालै खटिएको र आवश्यक थप सामग्री आइतबार पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, “हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै भ्यान सहितको मोवाइल टोली खटाएका छौँ । पानी परिक्षण र शद्धिकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाईदै छ ।”

