Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जको ग्रामीण भेगका दुई सरकारी विद्यालयमा सूर्य नेपालको सहयोगमा कम्प्युटर ल्याब सञ्चालन

वीरगन्ज,६भदौं :वीरगन्जका दुई सामुदायिक विद्यालयमा सूर्य नेपाल प्रा.लि.ले अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ स्थित मनमिश्र आधारभूत विद्यालय र वडा नम्बर ३१ स्थित सोलकपुर माध्यमिक विद्यालयमा शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा कम्प्युटर ल्याब हस्तान्तरण गरिएको हो ।

सूर्य नेपालका यज्ञबहादुर आलेका अनुसार सोलकपुर माध्यमिक विद्यालयमा १५ थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएससहितको ल्याब स्थापना गरिएको हो भने मनमिश्र आधारभूत विद्यालयमा १० थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएस उपलब्ध गराइएको छ । यसरी प्रविधिमूलक पूर्वाधार विद्यालयमै स्थापना भएपछि विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा डिजिटल शिक्षा सिक्ने अवसर मिल्ने बताइएको छ ।

मनमिश्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयमा प्रविधि प्रवेश गराउनु ठूलो उपलब्धि भएको टिप्पणी गरे ।उनले सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो लगानीले बालबालिकाको भविष्य उज्ज्वल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा कम्पनीले पुर्याएको योगदानको प्रशंसा गरे ।

विद्यालयका शिक्षक र अभिभावकहरूले कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीहरूको सिकाइ अझ व्यवहारिक र प्रविधिमैत्री हुने प्रतिक्रिया दिए। उनीहरूले यस किसिमको सहयोगले विद्यार्थीलाई डिजिटल सीप, अनुसन्धान गर्ने क्षमता र भविष्यमा प्रतिस्पर्धी बन्ने योग्यता विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सूर्य नेपालले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसपटक वीरगन्जका विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गरेर विद्यार्थीलाई २१ औं शताब्दीको डिजिटल शिक्षासँग नजिक्याउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।

प्रविधि अभावका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयका विद्यार्थीहरू पछि पर्ने अवस्था रहँदै आएकोमा यस प्रकारको सहयोगले विद्यालयहरूलाई आधुनिक शिक्षण पद्धतिसँग जोड्न सहज बनाउने अपेक्षा गरिएको छ । यसले विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिस्पर्धात्मक क्षमता र भविष्यको सम्भावनामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

Related posts

भोजपुरी फिल्मका कलाकारको सम्मानमा वीरगन्जमा ‘भोजपुरी सिने अवार्ड’ (फोटोमा होर्नु होस्)

MadhesKhabar

वीरगन्जको एपेक्स म्यानेजमेन्ट कलेजमा बि.बि.ए.को शुल्क ४ लाख ५० हजार

MadhesKhabar

पर्साको पटेर्वासुगौलीमा मधेस प्रदेशकै पहिलो ‘थारु संग्राहलय’ बन्दै

MadhesKhabar

Leave a Comment