वीरगन्ज,२६पुष : बचतकर्ताहरूको १ अर्ब भन्दा बढी निक्षेप रकम हिनामिना गरेको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वीरगन्जस्थित शाखा कार्यालयमा वीरगन्ज महानगरपालिकाले शिलबन्दी गरेको छ ।उक्त सहकारीलाई पाँच महिना पहिला नै समस्याग्रस्त सहकारी घोषणा गरेर सञ्चालकहरुलाइ पक्राउ गर्न विभिन्न निकायमा पत्रचार गरेको महानगरपालिकाले बिहीबार भने कार्यालयमा शिलबन्दी गरेको हो ।
महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा बिहीबार वडाध्यक्ष जयप्रकाश अग्रवाल,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव र प्रहरी सहायक निरीक्षक राम इश्वर महतोको रोहवरमा शिलबन्दी गरिएको महानगरको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखा प्रमुख सुनिल कुमार कर्णले बताए ।
गत भदौं ४ गते महानगरपालिकाले उक्त सहकारीका सञ्चालकहरुलाइ पक्राउ गरी कारबाही गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी ) र नेपाल राष्ट्र बैंकलाई भदौं ४ गते छुट्टा छुट्टै पत्रचार गरेको थियो ।
तीनवटै निकायमा पठाइएको पत्रमा उक्त सहकारी संस्थाले सहकारीजन्य ठगीको कसूर गरी संस्थाका सदस्यहरुले बचत गरेको करीब १ अर्ब रकम हिनामिना गरी फिर्ता नगरेको देखिएकाले उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी सहकारीका संस्थापक एंव संरक्षक गितेन्द्रबाबु (जिबी) राई ,अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ , सचिव देवेन्द्रबाबु राई , कोषाध्यक्ष कुमार रम्तेल , सदस्य अशोक यादव , थानबहादुर बुढामगर र धिरज दास , संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल , पूर्व सचिव तस्बिरन मियाँ , पुर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गरिएको थियो ।
शाखा प्रमुख कर्णका अनुसार सानो पाइला सहकारीले सदस्यहरुले बचत गरेको निक्षेप रकम फिर्ता गर्न नमानेको भन्दै महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखामा एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ । ती सबै उजुरीमा गरि उक्त सहकारीले १ अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरुलाई फिर्ता नगरेको पाइएकोपनि कर्णले जानकारी दिए ।
काठममाडौंको कालीमाटीमा केन्द्रिय कार्यालय भएको सानो पाइला सहकारीको वीरगन्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते बचतकर्ता सदस्यहरुले प्रदर्शन गर्दै धर्नापपनि दिएका थिए । हाल उक्त कार्यालय बन्द छ । कार्यालय बाहिर लगाइएको संस्थाको साइनबोर्डपनि हटाइएको छ ।