Madhes Khabar
समाचार

मधेसमा निर्माण गरिएका खानेपानीका ओभरहेड ट्यांकी सञ्चालनमा ल्याउन मन्त्री यादवको निर्देशन

भक्तपुर, ६ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

भक्तपुरको नगरकोटमा शुक्रबार आयोजना गरिएको गत आर्थिक वर्ष २०८०/८१ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रमा देखिएका समस्याहरू अझै पनि गम्भीर रहेकाले समाधानका लागि सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्ने बताए ।

“खानेपानीका सवालमा अझै पनि गम्भीर चुनौतीहरू रहेका छन् । त्यसैले सबै तहका निकाय र कर्मचारीहरूले कार्यप्रति प्रतिबद्धता, पारदर्शिता र जिम्मेवारी निर्वाह गर्न आवश्यक छ,” उनले भने, “खानेपानीका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक छ ।”

मन्त्री यादवले तराई–मधेसका विभिन्न स्थानहरूमा निर्माण भएका ओभरहेड ट्यांक योजनाहरू वितरण प्रणालीको अभावमा सञ्चालनमा आउन नसकेकाले यस्ता योजनाहरू पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई रणनीतिक तथा प्राविधिक कदमहरू चाँडै अगाडि बढाउन निर्देशन समेत दिए।

उनले भने,“सम्पूर्ण योजनाहरू जनतालाई लक्षित गरी निर्माण गरिएका हुन् । तर तिनको उपयोग नगरी बस्नु भनेको स्रोतको दुरुपयोग हो । त्यसैले जति सक्दो चाँडो ती संरचनाहरू सञ्चालनमा ल्याइ नागरिकलाई सुविधा दिनुपर्छ ।”

जलवायु परिवर्तनका कारण तराई–मधेस सहित पहाडी र हिमाली क्षेत्रमा खानेपानीका मुहानहरु सुक्ने समस्या बढ्दो क्रममा रहेकाले यसका लागि मुहान संरक्षण र रिचार्जका कार्यक्रमहरुलाई थप प्राथमिकता दिएर काम आगाडि बढाउन मन्त्री यादवले आग्रह गरे ।उनले भने, “जलवायु परिवर्तनका कारण तराई–मधेस सहित पहाडी र हिमाली क्षेत्रमा पानीका मुहानहरू क्रमशः सुक्दै गएका छन् । यस्तो अवस्थामा खानेपानीको दीर्घकालीन सुनिश्चितताको लागि मुहान संरक्षण तथा रिचार्जका कार्यक्रमहरूलाई प्राथमिकता दिनु जरुरी छ ।”

खानेपानी सेवामा सुधार ल्याउन सबै पक्षको साझा उत्तरदायित्व रहेको स्पष्ट पार्दै मन्त्री यादवले भने, “हाम्रो साझा लक्ष्य भनेको सबै नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउनु हो । यो लक्ष्य प्राप्तिका लागि सरकार मात्र होइन, स्थानीय तह, उपभोक्ता समिति, विकास साझेदार र समुदायको समेत सक्रिय सहकार्य अपरिहार्य छ ।”

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनले खानेपानीका आयोजनाहरुमा विनियोजित बजेट कार्यान्वयन गर्न नसक्दा समस्या हुने गरेकाले खानेपानीका आयोजनाहरुलाई सफलपार्नका लागि राष्ट्रिय योजना आयोग सधै सकारात्मक रहेको बताए ।उनले पछिल्लो समय फेसबुकमा राजनितिक दलका नेताहरुले आफुले हालेका योजनाहरु पोष्ट गर्ने प्रबृति बढ्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरे । उनले भने,“फेसबुकमा यति योजनाहाले भनेर पोष्ट गर्ने होइन बरु आयोजनाहरु कसरी छिटो कार्यान्वयन गर्ने त्यो काममा लागेमा उपयुक्त हुने म सुझाब दिन्छु ।”

मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले खानेपानीका आयोजनाहरु समयमै सम्पन्न कसरी गर्न सकिन्छ त्ये विषयमा केन्द्रित भएर सबै कर्मचारीले लाग्नु पर्ने धारणा राखिन् ।उनले भनिन् “खानेपानीका क्षेत्रमा राम्रो बजेट विनियोजन भएको छ । आयोजनाहरु समयमै कसरी सम्पन्न गर्ने त्यो विषयमा अहिले नै सबैले छलफल गरेर अगाडि बढ्न आवश्यक छ ।”

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा विभागले ९० दशमलब १० प्रतिसत वित्तीय प्रगति हासिल गरेका र चालु आर्थिक वर्षमा थप प्रगति गर्ने गरी काम सुरु भएको जानकारी दिए ।मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वर्षीक समिक्षा तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधानका बारेमा तयार गरिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

Related posts

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

MadhesKhabar

बारामा ब्राउन सुगरसहित ५ जना पक्राउ

MadhesKhabar

फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य राहुल गुप्ता वीरगन्जमा सम्मानित

MadhesKhabar

Leave a Comment