वीरगन्ज,४ भदौं :१ सय घण्टामा १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले वीरगन्जमा पनि बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले यहि भदौं ६ देखि ९ गतेसम्म नेपाल र भारतका विभिन्न स्थानहरूमा आयोजना गर्ने ऐतिहासिक ग्लोबल मेगा रक्तदान अभियान अन्तर्गत १ सय घण्टामा १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ ।
त्यहि अभियान अन्तर्गत वीरगन्जमा पनि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले भदौं ७ गते रक्तदान कार्यक्रम आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । भदौं ७ गते वीरगन्ज–२ छपकैयास्थित विश्वदर्शन भवन परिसरमा हुने रक्तदान कार्यक्रममा ५ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले जनाएको छ ।
यस्तै अभियान अन्तर्गत नै बाराको सिमरा र बरियारपुरमा पनि भदौं ६ गते तथा भदौं ७ गतेका दिन वीरगन्जसंगै बाराको कलैया, कोल्हबी , रौतहटको चन्द्रनिगाहपुर र गौरमा पनि रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
पत्रकार सम्मेलनमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी क्षेत्रीय सञ्चालिका रविना दिदीले नेपालमा मात्रै ३५ हजार पिन्ट रगत संकलन गरिने लक्ष्य लिइएको बताइन् । पत्रकार सम्मेलनमा वरिष्ठ प्रशिक्षक गुनराज भाईजी, गोबर्धन भाईजी, छोटेलाल भाईजी, प्रकाश थारुलगायतको उपस्थिती रहेको थियो ।

