रौतहट,३ भदौं :रौतहटको फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने पत्रकारमाथि गरिएको दुव्र्यवहार प्रकरणमा उपमेयर (कार्यवाहक मेयर) अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ईलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा रौतहट जिल्ला अदालतले सोमबार सनाउल्लाहलाई पक्राउ गर्न आदेश दिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए। पत्रकार कृष्ण तिवारीमाथि गत साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाने क्रममा सन्तपुर चोक नजिकै रोकेर सनाउल्लाहले दुव्र्यवहार गरेका थिए।
पीडित पत्रकार तिवारीले दिएको जाहेरी पछी रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीको निर्देशनमा ईलाका प्रहरी कार्यालय विजयपुरले घटनाको अनुसन्धान गरी गत आइतबार उपमेयर मेयर पुत्र सनाउल्लाहमाथि केही अभद्र मुदा दर्ता गरेको थियो।
ईलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक सुरेन्द्र यादवले कार्यवाहक मेयर समेत रहेकी उपमेयर खातुनका छोरा सनाउल्लाहलाई खोजतलास गरी पक्राउ गर्न प्रहरीको छुट्टै टोली परिचालन गरिएको जानकारी दिए्।
महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकामा इन्धन र यातायात खर्चमा अनियमितता भएको प्रस्ट्याएको थियो। त्यहि प्रतिवेदनकै आधारमा पत्रकार तिवारीले समाचार लेखेका थिए। तर समाचार सार्वजनिक भएपछि कार्यवाहक मेयर खातुनका छोरा सनाउल्लाहले पत्रकार तिवारीमाथि दुव्र्यवहार गरेका थिए ।
२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका थिए। तर तत्कालीन मेयर यादव विशेष अदालतबाट दोषी ठहरिएपछि खातुन कार्यवाहक बनेकी थिइन्। त्यसयता उनका श्रीमान् महमद सेराजको हस्तक्षेपले नगरको सम्पूर्ण कारोबार अस्तव्यस्त भएको भन्दै जनप्रतिनिधिहरू स्वयं गुनासो गर्दै आएका छन्। साभार : रातोपाटी

