वीरगन्ज,३१साउन: वैदिक सनातन धर्मावलम्बीले आज (शनिबार ) ‘श्रीकृष्ण जन्माष्टमी’ पर्ब मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरहरुमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।
यता वीरगन्जको गीता मन्दिरमा पनि आज बिहानै देखि भक्तजन र दर्शनार्थीहरुको घुइचो लागेको छ । गीता मन्दिरमा आज मेला पनि लागेको छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ।छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको अनुमान छ ।

