Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जमा नेपाल र भारतका प्रभावशाली नेता र बुद्धिजीविहरूको जमघट हुदैं

वीरगन्ज,३०साउनःनेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको तेस्रो पुण्यतिथीको उपलक्ष्यमा वीरगन्जमा नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको जमघट हुने भएको छ ।

प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) ले भदौं ७ गते वीरगन्जमा आयोजना गर्न लागेको ‘उत्साह र संघर्षको आलोकमा प्रदीप गिरिको सम्झना’ विषयक गोष्ठीमा नेपाल र भारत दुवै देशका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको जमघट हुने भएको हो ।

कार्यक्रमबारे जानकारी दिन वीरगन्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पीजीआईका अध्यक्ष कञ्चन झाले उक्त कार्यक्रममा स्व. प्रदीप गिरिको जीवन, विचार र उनको जीवनका मूल्यमान्यता नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय र सीमापार ऐक्यभावका बारे विचार विमर्श हुने जानकारी दिए ।

स्व. प्रदीप गिरिका घनिष्ठ मित्रहरू, राजनीतिक नेताहरू र दुबै देशका प्रशंसकहरूलाई गिरिको विरासत सम्झन, उनँले चासो राखेका मुद्दाहरूमाथि चिन्तन गर्न र उनका भावनाहरू अघि बढाउनका निमित्त एकजुट बनाउन यो कार्यक्रम एउटा अवसर पनि बन्ने अध्यक्ष झाको भनाई छ ।

कार्यक्रमको उद्घाटन सत्रमा स्व. गिरिका परिवारका सदस्य तथा उनिसँग नजिक रहेका पूर्व उद्योगमन्त्री रमेश रिजाल र नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रूङ्गटाले सम्बोधन गर्ने र त्यसपछि तीनवटा सत्रमा स्व. गिरिका बहुआयामिक पक्षमा चर्चा हुने झाले जानकारी दिए ।

‘किन नागरिक समाज र सञ्चारमाध्यमलाई प्रदीप गिरिको खाँचो महसुस हुन्छ? आज विवेकको बोली कसले बोल्ने?” , ‘प्रदीप गिरिः मनैदेखि समाजवादी वा परिचयभन्दा माथिको एक दूरदर्शी, जसले लोकतन्त्र बाँच्यो?” र ‘नेपाल, भारत र सीमाञ्चलः युवा, संस्कृति र पहिचानको राजनीति’ शीर्षकमा तीन वटा सत्र आयोजना गरिनेछ ।

पहिलो शत्रको वक्ताहरुमा वरिष्ठ पत्रकार चन्द्रकिशोर, राजनीतिक विश्लेषक सुचेता प्याकुरेल, समाज अध्येता भाष्कर गौतम र राजनीतिशास्त्री हरि शर्मा रहने छन् । दोेस्रो सत्रमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, भारतको कांग्रेस आइका महासचिव मोहनप्रकाश, प्रदीप गिरिका आफन्तसमेत रहेका भारतीय राजनीतिज्ञ एंव कानुनविद् वाइबी गिरि मसख्य वक्ता रहने झाले जानकारी गराए ।

झाका अनुसार, तेस्रो तथा अन्तिम सत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, साउथ एसियन युनिभर्सिटी दिल्लीकी सह–प्राध्यापक डा. मल्लिका शाक्य, भारतीय जनता पार्टीका नेता एंव सांसद डा. सन्जय जैसवाल, राष्ट्रिय जनता दलका नेता एंव सांसद सुधाकर सिंह र सीमाञ्चल अध्येताका रूपमा स्वंय झा सहभागी हुनेछन् ।

भदौं ७ गते वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा बिहानदेखि सुरु हुने कार्यक्रम आयोजनाका लागि वीरगन्ज उद्योग वाणिज्य संघ, सानो पाइला, पीडीएल कन्सल्टिङ ग्रुप, युथ कांग्रेस, नेपाल न्युज बैंक लगायतका संघसंस्थाहरू साझेदार रहेका छन्।

Related posts

नेपालमा वैदेशीक सहायतामा आउने बजेट दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त

MadhesKhabar

वीरगन्जमा धार्मिक सदभाव बिगार्ने कुनैपनि गतिविधी कसैलेपनि नगर्ने सर्वपक्षीय सहमति

MadhesKhabar

घूस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment