
शुक्रबार नेपाल-भारत प्रवेश विन्दु शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्य सुरु गरिएको हो । महानगरका मेयर राजेशमान प्रमुख सिंहले ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको सुभारम्भ गरे ।
भू सुशासनका लागि महानगरका ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण सुरु गरिएको महानगरका मेयर सिंहले जानकारी दिए ।उनका अनुसार बढ्दो सहरीकरणसँगै जनघनत्व बृद्धि हुँदै गएपनि भू–तथ्यांक चुस्त नहुँदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयन गर्न कठीनाई हुँदै आएको थियो।भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणालीमार्फत महानगरलाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने मेयर सिंहले बताए ।
भू–तथ्यांक व्यवस्थापन भएपछि वैज्ञानिक ठेगाना प्रणाली लागु हुनुका साथै तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुग्ने र त्यसले कर प्रणालीमा सुधार ल्याइ कर संकलनमा समेत बृद्धि हुने हुँदा समग्र महानगरपालिकाको समृद्धिमापनि यसले काम गर्ने उनले बताए ।
युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरमा भू–सर्वेक्षण कार्य सुरु गरिएको हो । महानगरपालिकाको ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को संयुक्त प्राविधिक साझेदारीमा शुक्रबारबाट ड्रोन परिचालन गरिएको हाे ।
ड्रोन मार्फत ३२ वटै वडाको तथ्यांक संकलन गर्न १० दिन लाग्ने र त्यसपछि तथ्यांकको प्रशोधन गरि उपयोगमा ल्याउन केही समय लाग्ने सर्वेक्षणमा संलग्न नक्सा प्रा.लि.ले जनाएको छ ।