Madhes Khabar
कृषि

वीरगन्ज महानगरलाई सूर्य नेपालद्वारा चल्ला उत्पादन गर्ने ५ थान ह्याचरी मेसिन प्रदान

वीरगन्ज,२९साउनःबाराको सिमरास्थित सूर्य नेपाल प्रालिले वीरगन्ज महानगरपालिकालाई कुखुरा,हाँसका लगायतका पंक्षीको अण्डाबाट चल्ला उत्पादन गर्ने ५ थान ह्याचरी मेसिन प्रदान गरेको छ ।वीरगन्ज महानगरपालिकामा व्यवसायिक रुपमा कुखुरा, हाँस लगायतका पंक्षी पालन गरिरहेका कृषकहरुको उत्पादन क्षमता बृद्धि गर्ने उदेश्यले सुर्य नेपालले वीरगन्ज महानगरपालिकालाई ५ थान ह्याचरी मेसिन प्रदान गरेको हो ।

बिहीबार वीरगन्ज महानगरपालिकाको कार्यालयमा सुर्य नेपाल प्रालिकाका उपाध्यक्ष रवि केसीले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ५ थान ह्याचरी मेसिन हस्तान्तरण गरेको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।पाँच वटै गरेर १५ लाख बढी मूल्यको स्वचालित ह्याचरी मेसिन सूर्य नेपालले सहयोग गरेको घिमिरेले बताए ।

व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज महानगरपालिकालाई ह्याचरी मेसिन प्रदान गरिएको सुर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले बताए।उनका अनुसार, बिहीबार महानगरपालिकालाई प्रदान गरिएको एउटा ह्याचरी मेसिनबाट एक दिनमा ३ सय बढी चल्ला उत्पादन गर्न सकिनेछ ।उक्त ह्याचरी मेसिनका लागि ५ घण्टासम्म ब्याकप दिने इन्भर्टरपनि छिट्टै उपलब्ध गराउने प्रतिबद्धतापनि उनले जनाए ।

केसीले वीरगन्जमा विद्यमान खानेपानीको संकट समाधानमा सूर्य नेपाल प्रालिले पनि सहकार्य गर्न चाहेको बताए ।त्यसका लागि डीप बोरिङ जडान गरिदिने र उक्त बोरिङ जडान गर्ने ठाँउ उपलब्ध गराइ दिन उनले महानगरका मेयर सिंहसंग आग्रह गरे ।

वीरगन्ज महानगरका मेयर सिंहले ह्याचरी मेसिन प्रदान गरेकोमा सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए । यो सहयोगले महानगरका कृषकहरुलाई आधुनिक प्रविधि अपनाउन प्रोत्साहन गर्नुका साथै गुणस्तरीय चल्ला उत्पादनमा बृद्धि भई आयआर्जनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको उनले बताए।आगामी दिनमा पनि सूर्य नेपालले वीरगन्ज महानगरपालिकालाई यस प्रकारका सहयोगका कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह पनि गरे ।

सूर्य नेपालले सहयोगस्वरुप प्रदान गरेका ह्याचरी मेसिन ,वीरगन्ज महानगरमा व्यवसायीक रुपमा कुखुरा वा हाँसको पालन गरिरहेका कृषक समुहरुको छनौट गरेर महानगरले वितरण गर्ने जानकारीपनि उनले दिए ।

ह्याचरी मेसिन हस्तान्तरण कार्यक्रममा सूर्य नेपालका पूर्व महाप्रबन्धक प्रभाकर शाह,बजार प्रमुख युमेश थापा,प्रबन्धक सुरेश काजी श्रेष्ठ,सर्विन श्रेष्ठ, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण , लेखा शाखा प्रमुख रामकुमार कुशवाहा लगायतकाको पनि उपस्थिती थियो ।

 

Related posts

पर्सामा मलकाे हाहाकार, खेतहरू रित्तै

MadhesKhabar

धान खेतीका लागि युरिया मल वीरगन्ज नाकाबाट भित्रिन थाल्याे

MadhesKhabar

सरकारकाे नीति तथा कार्यक्रममा वीरगन्ज चिनी कारखानालाई छुटाएकाे प्रति सांसद यादवकाे आपत्ति

MadhesKhabar

Leave a Comment