वीरगन्ज,२७ साउनःनारायणी अस्पतालमा वीरगन्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि त्यसबारे छानबिनका लागि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी(सीडीओ)को संयोजकत्वमा ७ सदस्यिय छानबिन समिति गठन गरिएको छ ।
नारायणी अस्पतालमा मंगलबार बिहान उचपारका क्रममा वीरगन्ज कारागारका कैदी २८ वर्षीय राहुल साह तुराहाको मृत्यु भएको थियो । कर्तब्य ज्यान मुद्धामा विगत पाँच वर्षदेखि कैद सजाय भुक्तानी गरिरहेका वीरगन्ज–२८ घर भएका राहुललाई बिहान कारगारभित्रै शारिरिक व्यायाम गर्ने क्रममा हर्ट अट्याक भएपछि कारगार प्रशासनले तत्कालै उपचारका लागि नारायणी अस्पतालमा पुर्याएको थियो ।
तर त्यहाँ सुरुमा आइसियु वार्डमा शैया खाली नभएपछि उनलाई चिकित्सकले अन्यत्र लैजान सुझाएपछि उनका आफन्तले एम्बुलेन्स मगाएका थिए । त्यसपछि नारायणी अस्पतालकै आइसियु वार्डमै शैयाको व्यवस्थापन गरेर उनको उपचार गर्ने क्रममा बिहान १०ः३० बजे मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले स्थानीय प्रशासन र प्रहरीले अन्यत्रको अस्पतालमा लैजान नदिएकोले उपचार नपाएर राहुलको मृत्यु भएको भन्दै अस्पताल अगाडि टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
कैदी मृत्यु प्रकरणमा विवाद भई विरोध प्रदर्शन भएपछि मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोेहबरमा मृतक पक्ष,जनप्रतिनिधी,पर्साका प्रहरी उपरक्षिक सहितको सहभागितामा छलफल भएको थियो । उक्त छलफलमा कैदी मृत्युको प्रकरण बारे सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा सात सदस्यिय छानबिन समिति गठन गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।
उक्त समितिको सदस्यमा पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी,मृतक पक्षका एक जना प्रतिनिधी,एक जना मानव अधिकारकर्मी,नेपाल चिकित्सक संघ र नेपाल पत्रकार महासंघ पर्साका एक एक जना प्रतिनिधी रहेका छन् ।
कैदी मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गरी १५ दिनभित्र त्यसको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय पर्सामा पेस गर्न समितिलाई निर्देशनपनि दिइएको प्रजिअ अर्यालले जानकारी दिए ।
मृतक पक्षले उपचारका क्रममा लापरवाही गरिएको भनेर स्थानीय प्रशासन र प्रहरीमाथि आरोप लगाएपछि त्यसबारे सत्यतथ्य छानबिनका लागि समिति गठनख गरिएको प्रजिअ अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्तसंग सहमति भएपछि मंगलबार साँझ मृतक कैदी राहुलको शव नारायणी अस्पतालमै पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।