वीरगन्ज,२७साउनःडेढ सातादेखि वीरगन्ज महानगरपालिका र वरपरको क्षेत्रमै चौपायामा लम्पीस्किन रोग देखिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका नायब पशु सेवा प्राविधिक विजय कुमार यादवले डेढ सातादेखि केन्द्रमा वीरगन्ज वरपरकै किसानले लम्पीस्किन प्रभावित चौपाया उपचारका लागि ल्याइरहेको बताए ।
वीरगन्ज–१३ का लक्ष्मण साहले बाच्छी, वीरगन्ज–१४ आकाश पटेलले भैंसी, वीरगन्ज–२४ का लक्ष्मण साहले गाई, वीरगन्ज–२२ अर्का मनियारीका अर्का एक किसानले बाच्छी लिएर उपचारार्थ आएको उनले बताए । हालसम्म अधिकांश किसानको बाच्छीमा यो रोग देखिएको छ ।
पर्सा जिल्लाको अन्य स्थानीय तहमा पनि यो रोगको प्रकोप फैलिएको कुरा आफूले सुने पनि आधिकारीक तथ्यांक भने नआएको उनले बताए । यो रोग लागेका चौपायालाई अत्यधिक ज्वरो आउने, झोक्राउने, खाना नखाने, शरीर भरी छालामा ५ सेन्टिमिटरसम्म गहिरो घाउ हुने र पछि त्यो घाउ फुट्ने, घाउको उपचार नगरिए घाउबाट किरा निस्कने र खुट्टा सुन्निने जस्ता लक्षण देखिन्छ ।
एक चौपायाबाट अर्को चौपायामा झिंगा, लामखुट्टे, उपियाँ आदि परजीविबाट यो रोग सर्छ । विशेष गरी ¥यालबाट र घाउमा लाग्ने परजीविबाट यो रोग बढी सर्ने गर्छ ।
पर्सा जिल्लामा २ वर्षअघि अर्थात २०८० वैशाखको अन्तिम साता पहिलो पटक ठोरी गाउँपालिकाका चौपायामा लम्पिस्किनको प्रकोप देखिएको थियो । त्यसपछि जिल्ला भरी विस्तार हुँदै १४ वटै स्थानीय तहमा फैलिएको थियो । त्यस वर्षकै भदौ अन्त्य तिर प्रकोप नियन्त्रणमा आएको थियो ।
२ वर्षअघि प्रकोप फैलिँदा पर्सा जिल्लामा २७ गाई, ७ बाच्छाबाच्छी, १ गोरु र १ भैंसी गरी ३६ चौपाया यो रोगबाट मरेका थिए । यसबाहेक जिल्ला भरीमा १ हजार ८ सय १ चौपाया लम्पीस्किन प्रभावित भएका थिए । तिनमा १ हजार ३ सय २७ गाई, ४ सय ७२ बाच्छाबाच्छी र २ भैंसी थिए ।
सबैभन्दा बढी पर्सागढी नगरपालिकामा ७ सय, जिराभवानी गाउँपालिकामा २ सय ८५, छिपहरमाई गाउँपालिकामा ६०, कालिकामाई गाउँपालिकामा ४०, जगरनाथपुर गाउँपालिकामा ३५, पकाहामैनपुर गाउँपालिकामा २० गाई प्रभावित भएका थिए ।
प्रकोप फैलिएकै वर्ष केन्द्रले करीब १६ हजार चौपायालाई लम्पिस्किनको भ्याक्सिन लगाएको थियो । जिल्लामा उन्नत जातको गाई र ती गाइबाट जन्मिएका बाच्छाबाच्छी तथा गोरुमा यो रोगको प्रकोप बढी देखिएको थियो ।
क्याप्रिपोक्स नामक भाइरसबाट यो रोग सर्छ । २०८० बैशाख २६ गते झापा, इलाम, उदयपुर, संखुवासभा लगायतका जिल्लामा एकै साथ देखिएको थियो । २०७७ सालमा पनि देशै भरी यो रोग देखिएकोमा त्यति बेला नियन्त्रणमा आएको थियो । त्यति बेला मोरङ जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।विश्वमा सन् २०१२ मा पहिलो पटक भारत, बंगलादेश र चीनमा एकै साथ यो रोग देखिएको थियो ।शंकर आचार्य/इकान्तिपुर

