
वीरगन्ज,२७ साउनःपर्साको ठोरीमा रहेको डेढु खोलामा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा ठोरी गाँउपालिका वडा नम्बर २ हनुमाननगरका मनोजय कठायतका छोराहरु ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन् ।
वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, मंगलबार बिहान विद्यालय जानु अघि घरबाट करिब १५० मिटरको दूरीमा रहेको ढेडु खोलामा दुवै दाजुभाई नुहाउन गएका थिए । खोलामा डाजेर खनेको खाल्डोमा जमेको पानीमा नुहाउन पसेका दुवै बालक दुवै दाजुभाईको त्यहि खाल्डोको पानीमा डुबेर मृत्यु भएको जिल्ल प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
दुवै बालक पानीमा तैरिरहेको अवस्थामा देखिएपछि स्थानीयले उद्धार गरी ठोरीस्थित अस्पतालमा पुर्याउँदा त्यहाका स्वास्थ्यकर्मीले मृत घोषित गरेको लम्सालले बताए ।
दुवै बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

