वीरगन्ज,२३साउनःवीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा लायन्स क्लब अफ रक्सौलको आयोजनामा हर्षोल्लाषका साथ ‘साउन महोत्सव’ मनाइएको छ ।
शुक्रबार आयोजित साउन महोत्सवमा हरियो रंगको पहिरन र श्रृंगारमा सजिएर सहभागी भएका महिलाहरुले गीतसंगीतमा नृत्य गर्नुका साथै मनोरञ्जनात्मक प्रतियोगितामापनि भाग लिएर रमाइलो गरेको कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ रक्सौलकी उपाध्यक्ष प्रियंका सोनीले जानकारी दिइन् । यसका साथै अन्ताक्षरी प्रतियोगिता आयोजना गरिनुका साथै सहभागीहरुका लागि खानाका विभिन्न किसिमका परिकारहरुपनि राखिएको थियो ।
आपसी प्रेम र सौहार्द बढाउनुका साथै महिलामा सामाजिक जागरूकता र सेवाभावलाई प्रोत्साहन गर्न तथा सांस्कृतिक एकता र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने उदेश्यरले साउन महोत्सवको आयोजना गरिएको सोनीले बताइन् ।
महोत्सवमा लायन्स क्लब अफ रक्सौलकी उपाध्यक्ष प्रियंका सोनीका साथै वीरगन्जबाट हिसारिया, ममता गुप्ता, पुनम गुप्ता, सरिता खत्री लगायतकाकोपनि सहभागिता रहेको लायन्स क्लब अफ रक्सौलका अध्यक्ष विमल कुमार सर्राफले जानकारी दिए ।

