वीरगन्ज,१६साउनःवीरगन्ज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेडबीच उपचार सेवा सहुलियत दिने सम्बन्धि सम्झौता भएको छ । उद्योगका कर्मचारी तथा तीन आश्रित परिवारलाई लक्षित गरी सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुवैबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार, हुलास आइरन इन्डस्ट्रीज तथा हुलास इन्फ्राका सञ्चालक समिति सदस्य, कर्मचारी र उनीहरूा आश्रित परिवारजनले नेशनल मेडिकल कलेजबाट नगदरहित सेवा प्राप्त गर्न सक्नेछन्। सामाजिक सुरक्षा कोष अन्तर्गतका लाभार्थीहरूका लागि सामाजिक सुरक्षा कोषको समन्वयमा सेवा उपलब्ध गराइनेछ भने गैर–लाभार्थीहरूलाई विभिन्न छुटको व्यवस्थापनि गरिएको छ।
आपतकालीन अवस्थाहरूमा ग्यारेन्टी अफ् पेमेन्ट प्राप्त भएपछि तुरुन्त सेवा उपलब्ध गराइनेपनि सम्झौतापत्रमा उल्लेख छ।यस्तै औद्योगिक दुर्घटना, पूर्व–रोजगार चेकअप, वार्षिक स्वास्थ्य परीक्षण तथा त्रैमासिक निःशुल्क स्वास्थ्य शिविर पनि सहमतिको हिस्सा रहेका छन्।
सम्झौताको अवधि एक वर्षको हुनेछ ।जसलाई आपसी सहमतिमा नवीकरणपनि गर्न सकिनेछ। दुबै पक्षले पारदर्शिता र गोपनीयताको सिद्धान्तमा आधारित रहेर सेवा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
यो सहकार्यले निजी क्षेत्रका कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न मद्दत पुग्ने र उद्योग–स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको नेशनल मेडकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए।
सम्झौतापत्रमा हस्ताक्षर गर्ने क्रममा मेडिकल कलेजका तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास र प्रशासनिक अधिकृत विश्वनाथ कान्त तथा हुलास आइरन इन्डस्ट्रीज लिमिटेड र हुलास इन्फ्राका तर्फबाट बरिष्ठ मानव संशाधन प्रबन्धक गोकुल पौडेल र लेखा विभागका प्रतिनिधि मनोज पारिखको उपस्थिति रहेको थियो ।

