वीरगन्ज,१५साउनःवीरगन्जस्थित नारायणी अस्पतालमा नर्सहरूको लागि बनाइएको आवास भवन करिब डेढ दशकदेखि गैरनर्सहरूको कब्जामा रहेको छ । अस्पतालको पुरानो भवन महेन्द्र आरोग्य भवनको ठीक पछाडि पश्चिमतर्फ नर्सहरूको लागि भनेर ३२ कोठाको आवास घर निर्माण गएिको थियो । तर उक्त भवन निर्माण भएदेखिनै गैरनर्सहरूकै कब्जा छ । ३२ वटा कोठामध्ये ४० प्रतिशत कोठा गैरनर्सहरुको कब्जामा रहेको अस्पताल प्रशासनले नै स्वीकारेको छ।
सुरूदेखि गैरनर्स हटाउने अभियान पनि नचलाइएको हैन तर राजनीतिक दबाबका कारण अभियान शुरू हुने र पछि पुनः सुस्ताउने गरेकोले अहिलेसम्म उक्त भवनमा गैरनर्सहरूकै रजगज छ ।नर्सहरुका लागि निर्माण गरिएको आवास भवनका कोठाहरु अस्पताल कर्मचारीहरूले कब्जा गर्ने र सरुवा भएर जाँदा पनि कोठा खाली नगरेर आफ्नो ताला लगाउने अथवा आफूले चाहेको मानिसलाई जिम्मा दिएर जाने गरेका छन् ।
नर्सका लागि बनेको आवासमा गैरनर्सहरूको रजाइले गर्दा बाहिरबाट आउने नर्सहरू अस्पतालको क्वाटरबाट वञ्चित भएर अस्पतालबाहिर डेरामा बस्न बाध्य छन् ।अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले बारम्बार पत्राचार गरेर खाली गराउने प्रयास असफल भएको बताए । उनले नर्स र चिकित्सकहरूका लागि बनाइएको क्वार्टरमा गैर नर्स र चिकित्सकहरूको कब्जा भएको कारण सम्बन्धित व्यक्तिहरूले सेवा नपाएको उनले बताए ।
हालै बहालमा रहेका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास पनि अस्पतालको क्वार्टर खाली नभएर एक महीना होटलमा बसेका थिए । यसैगरी, अस्पतालको ११ औं तहकी मेट्रोनले पनि अहिलेसम्म क्वाटर नपाएर बाहिर डेरामा बस्नुपरेको छ ।
अध्यक्ष गुप्ताले क्वार्टर खाली गराउन पहल नभएपछि डेरामा बस्ने नर्स तथा चिकित्सकहरू अध्ययन विदामा जाने र सरुवा माग्ने गरेको बताए । उनले कर्मचारीहरूको हकमा रवानापत्र दिनु अघि क्वार्टरको साँचो बुझ्ने गरेको बताए ।
स्थानीय प्रहरी प्रशासनले अनधिकृत कब्जा मुक्त गराउन सहयोग गर्ने आश्वासन दिएपनि अस्पताल प्रशासनले अहिले प्रहरी प्रशासनको सहयोग लिन चाहेको छैन । विकास समितिका साथै मेसु, चिकित्सक र अन्य प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू पनि राजनीतिक सिफारिसमा नियुक्त भएर आउने हुँदा डेढ दशकदेखि नर्सको आवासमा गैरनर्सको कब्जा हुँदा पनि खाली हुन सकेको छैन ।
खाली गराउन खोज्दा राजनीतिक दबाब आउने गरेको छ । आवास खाली गराउने क्रममा आफ्नै पद धरापमा पर्ने भयले गर्दा पनि यसबारेमा कसैले कडा कदम चाल्नै नसकेको अस्पताल प्रशासन स्रोत बताउँछ ।
महेन्द्र आरोग्य भवनपछाडिको नर्सहरूको क्वाटरको यो अवस्था छ भने प्रसूति गृहको पूर्वतर्फ पनि डेढ दशककै हाराहारीमा बनेको चिकित्सक र नर्स क्वार्टरको अवस्था पनि उस्तै छ । २४ कोठाको उक्त आवास भवनमा पनि अधिकांश गैर चिकित्सक र नर्सहरूको कब्जा छ ।
महानगरमा घर भएका, सेवानिवृत्त, अन्यत्र स्वास्थ्य संस्थामा कार्यरत गैर चिकित्सक र नर्सहरूले अहिलेसम्म त्यहाँ डेरा जमाएर बसेका छन् । अस्पताल प्रशासन प्रमुख ह्दयेश गिरीले क्वार्टर खाली गराउने नयाँ रणनीति अवलम्बन गरिएको र त्यसबाट एकजनालाई स्थानान्तरण गरिएको बताए ।
उनले अहिले कुनै पनि कारणवश क्वार्टरबाट बाहिरिनेहरूलाई अनिवार्यरूपमा स्टोरमा आफू बसेको कोठाको साँचो बुझाएको खण्डमा मात्र रवानापत्र दिने गरिएकोले अब सुधारको आशा गर्न सकिने बताए । उनले अध्ययन विदा माग्नेहरू, सरुवा भएर रवानापत्र माग्नेहरूको हकमा यो नियम लगाएको बताए ।
तर अघिदेखि घर भएका, सेवानिवृत्त भइसकेका र अन्यत्र कार्यरत रहेकाहरूको हकमा भने अस्पताल प्रशासन अहिलेसम्म मौन देखिएको छ । (यो समचार आजको प्रतिक दैनिक पत्रिकामा प्रकाशीत छ।)

