वीरगन्ज,६साउनःवीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा मंगलबार वृक्षारोपण गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवसमा विद्यालय परिसरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो ।
पर्सा क्षेत्र नम्बर १ को कांग्रेस क्षेत्रीय कायर्य समितिले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको शुभारम्भ मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।
त्यसअवसरमा बोल्दै मन्त्री क्षेत्री बोटविरुवा मानव जीवनको बाँच्ने आधार आधार भएको बताए । रुख विरुवाले पृथ्वीलाई हरियाली बनाउने र जलवायु सन्तुलन कायम राख्नपनि अहम भूमीका खेल्ने भन्दै उनले भने,‘ अहिले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र जैविक विविधता संकटमा परेका बेला वृक्षारोपण हाम्रो दायित्व मात्र होइन, मानव जीवनको अस्तित्वसँग जोडिएको आवश्यकता पनि हो ।’
हरेक नागरिकले आफ्नो घर, विद्यालय, गाउँ र शहरमा वृक्षारोपण गरी हरियालीको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । उनले भने,‘ आज एउटा बोट रोपियो भने, भोलिको पुस्तालाई स्वस्थ्य वातावरणको उपहार दिन सकिन्छ। हामी सबैले ‘एक व्यक्तिको एक बोट’ अभियानलाई आत्मसात गरी प्रकृतिसँगको हाम्रो सम्बन्धलाई अझ गहिरो बनाऔं।’
कार्यक्रममा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले महामानव वीपी कोइरालाले देखाएको समाजवादको मार्गमा अघि बढ्दै प्रकृति संरक्षण र वातावरणीय सन्तुलनमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।
कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षता तथा मन्त्री क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रमममा कांग्रेस पर्साका सचिव तथा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम,वीरगन्ज–४ का वडाध्यक्ष जगतप्रसाद कानु,मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मिया,नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश उपायध्य,नेविसंंघ पर्साका सभापति रमेश यादव,कांग्रेस नेताहरु रोशन लामिछाने,हुकुम सिंह, राकेश यादव,देवप्रकाश पटेल,नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, विकास ठाकुर लगायतकाकोपनि सहभागिता थियो ।

