वीरगन्ज,५साउनःभूमी समस्या समाधान आयोग जिल्ला समिति पर्साले सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ मा सोमबारदेखि जग्गाको नापजाँचको काम सुरु गरेको छ। आयोगले सर्वेक्षक नकुल पटेलको नेतृत्वमा तीनजना अमिनको टोली पठाएर नापजाँच प्रक्रिया अघि बढाएको हो।
आयोगका पर्सा अध्यक्ष तबरेज अहमदका अनुसार, आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गा प्रदान गर्ने उद्देश्यले नापजाँच कार्य प्रारम्भ गरेको हो।
सखुवा प्रसौनी गाँउपालिकामा भूमीहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनका लागि गाउँपालिका अध्यक्ष यशवन्त यादव र वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारुको समन्वय र सहयोगमा आयोगको काम प्रभावकारी रूपमा अघि बढिरहेको अध्यक्ष अहमदले जानकारी दिए।
नापजाँच कार्यले स्थानीय तहमा बसोबास गर्दै आएका वास्तविक भूमिहीनहरूलाई पहिचान गरी जग्गा स्वामित्व दिलाउने प्रक्रियामा सहयोग पु¥याउने विश्वास गरिएको अध्यक्ष अहमदले बताए।साथै, यसले सामाजिक न्यायको आधारमा समावेशी विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षापनि गरिएको उनको भनाई छ।

