
काठमाडौं,२ साउन : मधेस प्रदेशका ८ जिल्लामा सुक्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पर्सा, बारा सहित मधेसका जिल्लाहरुमा अध्ययन टोली पठाउने भएको छ ।
मधेसका जिल्लामा हालको अवस्थामा समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिक टोली पठाउने निर्णय भएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार, उक्त अध्ययन टोली आगामी आइतबारदेखि मधेसका जिल्लामा पुग्नेछ ।
शुक्रबार कृषि मन्त्रालय र मातहतका कर्मचारीसँग छलफल गरी कृषिमन्त्री रामनाथ अधिकारीले तुरुन्तै मधेसका जिल्लामा टोली पठाउन निर्देशन दिएका हुन् ।
मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रबाट २/२ जनाको दरले टोली पठाउने निर्णय भएको हो । टोलीले मधेस प्रदेशमा रहेका मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीसँग पनि समन्वय गर्नेछ ।
मधेस प्रदेश सरकारले लामो समय पानी नपर्दा खानेपानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै गत असार २६ गते मधेस प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै विशृष राहतको प्यााकेज उपलब्ध गराउन संघ सरकारसंग माग गरेको थियो ।
कृषिमन्त्री अधिकारीले अबका केही दिनभित्र वर्षा नभएको अवस्थामा तीनै तहको सरकारले विकल्प खोज्नुपर्ने र मन्त्रालय मातहत सबै निकायलाई त्यसतर्फ लगाउनुपर्ने बताए ।
हाल रहेका सिँचाइ संरचना पूर्णरूपमा सञ्चालन गरी सिँचाइका लागि अन्य विकल्प के–के हुन सक्छन् भनेर सम्बन्धित निकायसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जानकारी दिए ।मधेसका ८ जिल्लामा हालसम्म करिब ४६ प्रतिशत रोपाइँ सकिएको मधेस प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।

