Madhes Khabar
राजनीति

नेपालमा रहेकाे पाकिस्तानी दूतावास बन्द गर्न माग

वीरगन्ज,१साउन:वीरगन्जमा राष्ट्रिय एकता अभियानद्वारा आयोजित “जिहादी आतंकवाद र मधेस – नेपालको सुरक्षा चुनौती” विषयक बहस कार्यक्रममा सहभागी वक्ताहरुले भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकवादी समुहहरूले नेपालकाे आन्तरिक सुरक्षामा चुनौती बढाउँदै लगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

 

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले पाकिस्तान समर्थित आतंककारी गतिविधि विरुद्ध नेपाल सतर्क रहनु पर्नेमा जोड दिए।उनले नेपालमा रहेकाे पाकिस्तानी दूतावास नेपालबाट हटाउन माग समेत गरे।

 

अभियानका केन्द्रीय उपाध्यक्ष एंव संविधान सभा सदस्य भुपेन्द्र चौधरी र प्रध्यापक देवेन्द्र मिश्रले आतंकवादका बदलिँदो रूप र त्यसको क्षेत्रीय प्रभावबारे धारणा राखे।कार्यक्रमका वक्ताहरुले सन् १९८० को दशकदेखि नै पाकिस्तानको गुप्तचर संस्था आईएसआईले भारतको कश्मीरमा आतंक फैलाउन नेपालभित्र घुसपैठ र आर्थिक, धार्मिक नेटवर्कको निर्माण गरेको चर्चा गरे। नेपाल-भारत खुला सीमाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकी सञ्जालले नेपालको धर्मिक सहिष्णुता, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय छवि माथि प्रश्न खडा गरिरहेको उनीहरूको ठहर थियो।

 

“नेपाल आतंकवादको स्थायी श्रृंखला नबनाेस् भन्ने हाम्रो साझा जिम्मेवारी हो,”यादवले भने, “अब हामीले खुल्ला रूपमा विश्व समुदाय सामु आवाज उठाउनु पर्छ कि नेपाल आतंकको भुँइचालो बन्ने छैन।”उनले आतंककारी अब्दुल करिम टुण्डा, सैफुल्लाह, यासिन भटकलजस्ता कुख्यात आतंककारीले नेपाललाई लुक्ने, योजना बनाउने र पासपोर्ट परिवर्तन गर्ने सुरक्षाविहीन स्थल बनाएको घटनाहरू स्मरण गराए।

 

कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय जम्मु–कश्मीरको पहलगाममा नेपाली युवक सुदीप न्याैपानेको हत्या पाकिस्तान–प्रेरित आतंकवादको एक नमूना भएको टिप्पणी गरे। “यो एक दुर्घटना मात्र होइन, पाकिस्तानको आतंकवादले नेपालका युवालाई कस्तो प्रकारको खतरा दिन सक्छ भन्ने चेतावनी पनि हो,”यादवले भने।

 

प्राध्यापक मिश्रले भने, “अब हाम्रो कुटनीतिक नीति स्पष्ट हुनुपर्छ, नेपाल कुनै पनि आतंकवादी संगठनको लुकाउने भूमिमा परिणत हुने छैन।” उनले नेपाल–भारत सम्बन्धमा असहजता ल्याउने उद्देश्यले पाकिस्तानले लगातार नेपाल प्रयोग गर्ने रणनीति अपनाएको बताए।

 

अभियानका पर्सा संयोजक विकाउ भण्डारी थारूको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी डा. अजय यादव,नेपाली कांग्रेसका युवा नेता राकेश यादव लगायतकाकाे सहभागिता थियाे।

Related posts

जेनजीलाई गगनले भने :महाधिवेशनको दौडादौड सकिएपछि तपाईँहरूसँग मिलेर काम गर्छु

MadhesKhabar

टिकट नपाएपिछ जसपा केन्द्रीय सदस्य बेगमले पनि दिइन् स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment