सुर्खेत,३१असारःनक्कली नोट र लागूऔषध अफिमको कारोबार गर्ने एक पत्रकारसहित ५ जनालाई सुर्खेत प्रहरीले पक्रााउ गरेको छ । प्रहरीले नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा लागूऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–४ मा घर भई हाल बाँकेको कोहलपुर नगरपालिका–११ न्युरोडमा जनगर्जन नेटवर्क प्राली नामक मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षका मनबहादुर सहकारीसहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरी नाब उपरीक्षक मोहनजंग बुढा थापाले बताए ।
उनका अनुसार पत्रकार सहकारीले मिडियाका नाममा नक्कली नाोट र अफिमको कारोबार गर्ने गरेको पाइएको र उनिसँगै जाजरकोट कुशे गाउँपालिका–५ का २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीया रामबहादुर सिंह, जाजरकोट कुशे गाउँपालिका–७ समकोट गमौडी घर भई हाल सुर्खेत भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी ३५ वर्षीया कृष्णबहादुर वली र सोही ठाउँका ३८ वर्षीया प्रेमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘उनीहरूका साथबाट १३ लाख नक्कली रुपैयाँ र ३० किलोग्राम ६७२ मिलिग्राम अफिम बरामत गरिएको छ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।
सोमबार दिलमायाले नक्कली रुपैयाँ (खोटा मुद्रा) चलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा ठकुरीको साथबाट ६ हजार रुपैयाँ नक्कली रुपैयाँ फेला पारेसँगै यो गिरोह पत्ता लागेको थापाको भनाइ छ ।
‘जाली नोट सम्बन्धी थप अनुसन्धान क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका–५ खुर्पा बस्ने रामबहादुर सिंह तथा निज दिलमाया सिंहको डेराकोठाबाट लुकाई छिपाई राखेको अवस्थामा नेपाली एक हजार दरका १२ लाख ३६ हजार बरामद गरेको थियौँ,’ उनले भने, ‘आजै जालीनोट कसुरमा संलग्न व्यक्तिको पक्राउ तथा थप अनुरन्धान गर्दै जाने क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका–७ समकोट गमौडी घर भई सुर्खेतको भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने कृष्णबहादुर वली र प्रेमबहादुर विकलाई फेला पारी डेराकोठा तथा शरीर खानतलासी गर्दा निजहरूको लुकाई छिपाई राखेको कालो झोला भित्र अफिम जस्तो देखिने गिलो पदार्थ पोका ११ किलोग्राम ३७२ मिलिग्राम फेला पारेको थियो ।’
लागूऔषध अफिम तथा जाली नोट कसुरको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबार गर्ने नोट बनाउने तथा उक्त नोट बनाउने सामानसमेत सहकारीलाई नियन्त्रणमा लिई उनले संचालन गरेको मिडिया हाउस तथा निज बस्ने कोठा खानतलासी गर्दा एक हजार दरका ५१ थान नक्कली नोट र एक प्लाष्टिकमा पोका बनाई राखेको पोकामा १९ किलोग्राम लागूऔषध अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।
सञ्चालक सहरकारीबाट नक्कली नोट बनाउन प्रयोग हुने कम्प्युटर, प्रिन्टर, क्यामरालगाएतका सामानसमेत बरामद भएको प्रहरीले जनाएको छ ।साभारः खबरहब

