Madhes Khabar
स्थानिय

वीरगन्जको मेनरोड विस्तार जुनसुकै हालतमा भएपनि हुनैपर्छ : सांसद जयसवाल

वीरगन्ज,१८असारः प्रतिनिधिसभा सदस्य (सांसद) बिना जयसवाल कुर्मीले वीरगन्जको मुख्य सडकको विस्तार अपरिहार्य भएकोले वीरगन्ज महानगरपालिकाले थालेको अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहेको बताएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी कुर्मीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेकी छन् ,‘ भोलिको लागि आज त्याग गर्नुपर्छ ! वीरगन्ज सहर नेपालको एउटा प्रमुख व्यापारिक केन्द्र हो, जहाँको आर्थिक गतिविधि केवल यसक्षेत्र मात्र होइन, समग्र राष्ट्रको विकाससँग जोडिएको छ ।यस्तो सहरको मुख्य सडक संकुचित, अव्यवस्थित र अत्यधिक चापयुक्त हुनु हाम्रो विकासको गतिमा बाधा बनिरहेको छ।त्यसैले, यो सडक विस्तार कुनै विकल्प होइन — यो आवश्यकता हो र यो कार्य जुनसुकै मूल्यमा भएपनि सम्पन्न हुनैपर्छ।

‘आजको सानो असहजता भोलिको ठूलो सहजतामा रूपान्तरण हुन्छ र मुख्य सडकको विस्तारले यातायात सहज बनाउनेछ, व्यापार बढाउनेछ, रोजगारी सिर्जना गर्नेछ र समग्र जीवनशैलीमा सुधार ल्याउनेछ। हामीलाई थाहा छ, कुनै पनि विकास कार्यले केही हदसम्म अस्थायी असर पार्न सक्छ — तर यसले स्थायी समाधान ल्याउनेछ ।’,उनले लेखेकी छन् ।

मुख्य सडक विस्तारका लागि वीरगन्जबासीले केही त्याग गर्नुपर्छ भने त्यो त्याग जनताको दीर्घकालीन हितका लागि हुने भन्दै कुर्मीले यसप्रति प्रतिरोध गर्ने सोचप्रणाली, जुन केवल व्यक्तिगत स्वार्थ वा अल्पकालीन असुविधा देखेर विरोध गर्छ, त्यो देशको समृद्धिको बाटोमा रोकिने अवरोध मात्र भनेकी छन् ।

त्यसका कारण यस्ता सोचलाई स्पष्ट रूपमा चुनौती दिनुपर्ने भन्दै उनले अगाडि लेखेकी छन्,‘हामी अब दोधारमा बस्ने बेला होइन,निर्णय गर्ने, अगाडि बढ्ने र विकासको पथमा सहकार्य गर्ने समय हो। वीरगन्जको मुख्य सडक विस्तार राष्ट्रकै मेरुदण्ड मजबुत बनाउने खम्बा हुनेछ ।

सर्वोच्च अदालतको फागुन २८ को फैसलापछि वीरगन्ज महानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डकचोकदेखि मितेरी पुलसम्मको मुख्य सडक दायाँ बाँया २५–२५ मिटर विस्तारका लागि सडकक्षेत्रभित्रका संरचना हटाउने काम गत सोमबारदेखि थालेको छ । तर उक्त काम वीरगन्ज महानगरको कार्यक्षेत्रभित्र नपर्ने तथा अदालतको फैसलाको पूर्णपाठपनि आइनसकेको भन्दै घरधनीहरुले तत्काल उक्त काम रोक्न माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

Related posts

वीरगन्जमा प्रहरीद्वारा छापा मारेर चार कराेड ७७ लाख बढीकाे १८०० बाेरा सुपारी बरामद

MadhesKhabar

तस्करीको सामान भेटिएपछि वीरगन्जको पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको सिलबन्दी

MadhesKhabar

पर्साकाे धाेबिनी गाँउपालिकाकाे गाँउसभा ३ महिनापछि सम्पन्न: ३३ कराेड ८८ लाखकाे आयाे बजेट

MadhesKhabar

Leave a Comment