वीरगन्ज,८असारः चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाका हुदैं १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।साउनदेखि जेठसम्म १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ मूल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड, एलपिजी ग्यास, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।
समग्रमा गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने १ अर्ब ६ करोडले घटेको छ । उक्त अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि त्यसबाट प्राप्त हुने राजस्व भने ११.६६ प्रतिशत अर्थात् ७ अर्ब ६४ करोडले बढेको छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार वीरगन्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाटै संकलन गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट वीरगन्ज भन्सार कार्यालयले ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि गत आवको त्यही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने ९ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको थियो । डिजेल आयातबापत भन्सार कार्यालयले ४१ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा भने ३६ अर्ब चार करोड राजस्व संकलन गरेको थियो ।
त्यसैगरी, चालु आर्थिक वर्षको ११ महिनामा ३५ अर्ब ३४ करोडको ४ लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत आर्थिक वर्षको ११ महिनामा ३६ अर्ब ४ करोडको ३ लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको थियो ।
पेट्रोल आयातबाट भन्सार कार्यालयले २३ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ भने गत आर्थिक वर्षको उक्त अवधिमा २० अर्ब ७३ करोड राजस्व संकलन भएको थियो ।
वीरगन्ज भन्सार नाका हुदैं चालु आर्थिक वर्षको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको थियो । ग्यास आयातबापत ६ अर्ब २४ करोड राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ग्यास आयातबाट ५ अर्ब १६ करोड संकलन गरेको थियो ।रासस