Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज,८असारः चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाका हुदैं १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।साउनदेखि जेठसम्म १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ मूल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड, एलपिजी ग्यास, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

समग्रमा गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने १ अर्ब ६ करोडले घटेको छ । उक्त अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि त्यसबाट प्राप्त हुने राजस्व भने ११.६६ प्रतिशत अर्थात् ७ अर्ब ६४ करोडले बढेको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार वीरगन्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाटै संकलन गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट वीरगन्ज भन्सार कार्यालयले ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि गत आवको त्यही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने ९ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको थियो । डिजेल आयातबापत भन्सार कार्यालयले ४१ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा भने ३६ अर्ब चार करोड राजस्व संकलन गरेको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको ११ महिनामा ३५ अर्ब ३४ करोडको ४ लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत आर्थिक वर्षको ११ महिनामा ३६ अर्ब ४ करोडको ३ लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको थियो ।

पेट्रोल आयातबाट भन्सार कार्यालयले २३ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ भने गत आर्थिक वर्षको उक्त अवधिमा २० अर्ब ७३ करोड राजस्व संकलन भएको थियो ।

वीरगन्ज भन्सार नाका हुदैं चालु आर्थिक वर्षको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको थियो । ग्यास आयातबापत ६ अर्ब २४ करोड राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ग्यास आयातबाट ५ अर्ब १६ करोड संकलन गरेको थियो ।रासस

 

Related posts

वीरगन्ज नाकाबाट दुई महिनामा २६ अर्ब ३३ करोडको पेट्रोलियम पदार्थ आयात

MadhesKhabar

वीरगन्जको सुक्खा बन्दरगाह भन्सारद्वारा १० महिनामा ४१ अर्ब १८ करोड राजस्व संकलन

MadhesKhabar

विमस्टेक सम्मेलनमा भाग लिन उद्योगमन्त्री रिजाल भारत जाने

MadhesKhabar

Leave a Comment