
सर्लाही,१असारःभिन्डी बिक्री हुन छाडेपछि सर्लाहीका किसानहरु मारमा परेका छन् ।बजारमा भिन्डी प्रतिकेजी पाँच रुपियाँमा समेत बिक्री हुन छाडेको किसानहरुको भनाई छ । चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका किसान हरिप्रसाद महतोले केही दिनदेखि भिन्डी मुस्किलले प्रतिकेजी दुईदेखि पाँच रुपियाँसम्ममा बिक्री गरिरहेको जानकारी दिए ।
मोटरसाइकलमा हालेर भिन्डी बिक्री गर्न बबरगन्जदेखि लालबन्दी बजारसम्म लग्दा पेट्रोलको खर्चधरी नउठ्ने महतोले गुनासो गरे। १० कठ्ठा खेतमा भिन्डी लगाएका महतोले सुरुमा प्रतिकेजी २० रुपियाँसम्ममा बिक्री गरेको भएपनि अहिले दुईदेखि पाँच रुपियाँ भाऊ भएपछि मार परेको गुनासो गरे ।
सर्लाहीमा जिल्लाभरका किसानले लालबन्दी थोक तरकारी बजार डुमडुमेमा ल्याएर तरकारी बिक्री गर्ने गरेका छन् । ईश्वरपुर नगरपालिका–१०, बेलामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान दयाराम कुशवाहाले बोडीपछि अहिले भिन्डी बिक्री हुन छाडेको जानकारी दिए ।
चर्को घाममा महँगो विषादी र मल प्रयोग गरेर उत्पादन गरेको तरकारीले भाऊ नपाउँदा जाँगर नै हराएको कुशवाहाको भनाई छ । भिन्डी बिक्री नभएपछि बिहीबार बिहान लालबन्दीमा केही किसानले बजारमै तरकारी फालेर नाराबाजी गरेका थिए ।
लालबन्दी नगरपालिका–११, हीरापुरका किसान सिकिन्द्र महतोले भिन्डी बिक्री नभएपछि बजारमै फालेर घर फर्किएको बताए । आफूले त्यही दिन नै खेतको भिन्डी जोती सकेको महतोले बताएका छन् ।
लालबन्दी कृषि थोक तरकारी बजारका अध्यक्ष प्रमोद थपलियाले अहिले बजारको माग भन्दा बढी भिन्डी उत्पादन भएकाले बिक्री हुन नसकेको बताए । सर्लाहीबाट तरकारी निकासी हुने काठमाडौं, पोखरालगायतका ठूला बजारमा निर्यात नै नहुँदा स्थानीय बजारमा भिन्डी बिक्री हुन नसकेको थपलियाको भनाई छ ।साभारः उज्यालो अभियान

