Madhes Khabar
कृषि

असार वित्नै लाग्दा पनि किसानहरुले अझै मल पाएनन्


मधेशखबर
२७ असाढ ,२०७९ असार महिनाको अन्तिम साता लागि सक्दा पनि पर्साका किसानहरुले अझै युरिया मल नपाउँदा मर्कामा परेका छन् । आकाशे पानी र मलको अभावमा असार वित्नै लाग्दा पनि किसानहरुले रोपाइँ गर्न नसकेको बताएका छन् ।
गर्दाैलकी किसान सोनमति देवीले असार मसान्तसम्म मल आइसक्ने आसामा आफूहरू बसे पनि हालसम्म नपाएको र अब साउनमा पनि आउने ,नआउने केही जानकारी पनि नभएको गुनासो गर्छिन् । यस वर्ष समयमै धान बालीमा युरिया मल छर्न नसकिने सम्भावना देखिएको उनी बताउँछिन् ।
उनले भनिन् , आफ्नो देशमा हरेक वर्ष मल समयमा नपाउने भएपछि सिमावर्ती भारतबाट खेतीका लागि थोर बहुत ल्याउँदा त्यसको लागि पनि सिमा नाकामा सास्ती खेप्नुपर्ने हुन्छ । यसरी हामी किसान कसरी बाच्ने , के फलाउने ,के बेच्ने ,के खाने ? चिन्ता लागेको छ यसपालि पनि उत्पादन घट्छ की भनेर ।
यता अर्की किसान जगतीया देवीले वर्षभरीको खर्च जोहोका लागि एक मात्र विकल्प तथा आम्दानीको श्रोत भनेको खेती नै रहेपनि हरेक वर्ष मल वा सिचाईको लागि पानीको समस्या खेप्नुपर्ने बाध्यता रहेको दुखेसो पोख्छिन् ।
कृषि सामग्री कम्पनीले भने युरिया मल आउने अझै टुंगो नलागेको जनाएको छ । कम्पनीले टेण्डरबाट खरिद गर्ने र भारतसँग ’जीटूजी’ प्रक्रियाबाट ल्याउने गरी दुवैखाले मलको अझै टुंगो नलागेको हो ।

कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गर्न लागेको ३० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी मल अझैसम्म भारतको कोलकाता बन्दरगाहसम्म आइ नपुगेको कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र प्रसाद चम्लागाईँ बताउँछन् । स्विस सिंगापुर कम्पनी ठेकेदार रहेको यो मल अझै समुद्री मार्गमै रहेको उनले बताए ।

भारतबाट ‘जीटूजी’ प्रक्रियाबाट ल्याउने भनिएको युरिया मलको सम्बन्धमा पनि आफूले तत्कालै यकिन साथ भन्न नसक्ने उनले बताए ।

Related posts

उखु किसानको भुक्तानी समस्या समाधान गर्न सरकारद्वारा समिति गठन

MadhesKhabar

चिनी मिलले उखु खरिद नगर्दा पर्साका किसानहरु समस्यामा

MadhesKhabar

पर्सामा धानको बीउको अभाव,बजारबाट दोब्बर भाउमा बीउ किन्न किसान बाध्य

MadhesKhabar

Leave a Comment