वीरगन्ज,३१जेठःलामो समयदेखि केही व्यक्तिको कब्जामा रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित नारायणी स्पोट्र्स क्लब कब्जामुक्त गरिएको छ ।
वीरगन्ज महानगरपालिकाको सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजकसमेत रहेका वडाध्यक्ष प्रदिप चौरसिया लगायतको पहलमा उक्त क्लब कब्जामुक्त गरिएको हो ।
शनिबार वडाध्यक्ष चौरसियाको अगुवाइमा वडाका अगुवा र समाजसेवीहरुले क्लबलाई कब्जमुक्त गराएका हुन् । क्लबमा लामो समयदेखि केहि व्याक्तिहरुले लगाएको ताल्चा खोल्न र क्लबलाई सञ्चालनमा ल्याउन यसअघि पटक पटक सूचना टाँस गरिएको थियो । तर उक्त सूचनाको अटेर गरिएपछि शनिबार वडाध्यक्ष चौरसियाको अग्रसरतामा वडाबासीको भेला बसेर क्लबमा लगाइएको ताल्चा तोड्ने निर्णय गरेपनि वीरगन्ज महानगरका नगरप्रहरीको रोहबरमा क्लबमा लगाइएको ताल्चा खोलेको र वडा समिति कार्यालयले औपचारिक रूपमा क्लबको जिम्मेवारी आफ्नो मातहतमा लिएको स्थानीयले जानकारी दिएका छन् ।
कब्जामुक्त गराइएको क्लब अब वडा समिति कार्यालयको मातहतमा आएको र अब वडा समितिले पारदर्शी रुपमा क्लबको कार्यालय तथा गगतिविधी सञ्चालन गर्ने वडाध्यक्ष चौरसियाले बताए ।