काठमाडौं,२७जेठ:त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट विगत लामो समयदेखि भारतीय नागरिकहरू तेस्रो मुलुक जाने गरेको तथ्य खुलासा भएको छ।
पछिल्लो समय भिजिट भिसा प्रकरणबारे चर्चा चुलिएका बेला वर्तमान गृहमन्त्री रमेश लेखकलाई जोडेर समाचारहरू प्रकाशित भइरहेको भए पनि अध्यागमनबाट विगतका गृहमन्त्रीको कार्यकालबाट अहिलेभन्दा ठूलो संख्यामा भारतीय नागरिक तेस्रो मुलुकको यात्रामा त्रिभुवन विमानस्थलबाट पलायन हुने गरेको अध्यागमन विभागले जनाएको छ।
अध्यागमन विभागबाट प्राप्त तथ्यांकअनुसार राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुईपटक छोटो अवधिका लागि गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट कुल ८ हजार २७९ जना भारतीय नागरिक तेस्रो मुलुक गएको देखिएको छ।
पहिलोपटक रवि गृहमन्त्री भएका बेला ४ महिनाको अवधिमा ७ हजार ४० जना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएको तथ्यांकले देखाएको छ। रविको पहिलो कार्यकालमा दैनिक औसतमा ५८ जना भारतीय नागरिक विमानस्थलबाट तेस्रो मुलुक जाने गरेको अध्यागमन विभागले जनाएको छ।
त्यसपछि अझ छोटो अवधिका लागि उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका रविको पालामा दैनिक औसतमा ३८ जना भारतीय नागरिकलाई विमानस्थलबाट तेस्रो मुलुक पठाइएको देखिन्छ। रविको दोस्रो कार्यकालको एक महिना २ दिनको अवधिमा १२ सय ३९ जना भारतीयहरू तेस्रो मुलुक गएको देखिन्छ। अध्यागमन विभागका अनुसार रविको पालामा सबैभन्दा बढी भारतीयहरू ‘नो अब्जेक्सन लेटर (एनओसी)’ विनै तेस्रो मुलुक गएका थिए।
तेस्रो मुलुकमा जाने भारतीयहरू कतार, कुवेत, दुबई, हङकङ, मलेसिया, चीन, थाइल्यान्ड र श्रीलंकालगायत मुलुकमा पुग्ने गरेको पाइएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ।
काठमाडौंस्थित भारतीय दूतावास र अध्यागमन विभागका अनुसार कुनै पनि भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भ्रमणमा जाँदा दूतावासबाट जारी ‘नो अब्जेक्सन लेटर (एनओसी)’ अनिवार्य पेश गर्नुपर्छ। तर, नेपालको अध्यागमन कार्यालयले विगतदेखि नै एनओसी मागेको पाइँदैन। तर, विमानस्थलबाट भारतीय दूतावासका कर्मचारीलाई सोधेर तेस्रो मुलुकको अनुमति दिने प्रचलन विगतदेखि नै रहेको अध्यागमन विभाग स्रोतले जनाएको छ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्रीको जिम्मेवारीमा रहँदा भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट हजारौंको संख्यामा तेस्रो मुलुक गएको तथ्यांक छ। श्रेष्ठ गृहमन्त्री हुँदाको बखत १ वर्ष ३ दिनभित्र १४ हजार ७४ जना भारतीयले तेस्रो मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल प्रयोग गरेको तथ्यांकबाट देखिन्छ। तत्कालीन गृहमन्त्री श्रेष्ठको पालामा दैनिक औसत ३८ जना भारतीय विदेशिएको अध्यागमन विभागका एक उच्च अधिकारीले जानकारी दिए। श्रेष्ठको पालामा भारतीय नागरिकहरू चीन, थाइल्यान्ड, मलेसिया, दुबई र श्रीलंकालगायत गन्तव्यमा बढी गएको देखिन्छ।
यस्तै, रामबहादुर थापा ‘बादल’को गृह मन्त्रालयको नेतृत्वको समयावधि अरूभन्दा बढी थियो। थापा गृहमन्त्री हुँदा ३ वर्ष ४ महिना १६ दिनमा १५ हजार ३२ जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट तेस्रो मुलुक गएको अध्यागमन विभागको तथ्यांक छ। तत्कालीन गृहमन्त्री थापाको पालामा दैनिक औसतमा १२ जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट तेस्रो मुलुक गएको खुलेको छ।
यस्तै, कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट सबैभन्दा बढी भारतीय नागरिक तेस्रो मुलुक गएको तथ्यांकबाट पुष्टि हुन्छ।
खाँण गृहमन्त्री हुँदा १ वर्ष ५ महिना १३ दिनको अवधिमा २४ हजार ६२१ जना भारतीय नागरिक त्रिभुवन विमानस्थल हुँदै तेस्रो मुलुक गएको अध्यागमनको तथ्यांकले देखाएको छ। खाँणको पालामा दैनिक औसतमा ४७ जना भारतीय नागरिक काठमाडौं विमानस्थल हुँदै तेस्रो मुलुक गएको देखिन्छ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए। त्यतिबेला पनि ८२ जना भारतीय नागरिक तेस्रो मुलुक गएको देखिएको छ।
तीन महिना प्रचण्डले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए। प्रचण्डको पालामा दैनिक करिब औसतमा १ जना भारतीय नागरिक यहाँबाट तेस्रो मुलुक पलायन भएको देखिएको छ। उनको पालामा भारतीय नागरिकहरू त्रिभुवन विमानस्थलबाट भुटान र दुबई बढी संख्यामा गएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।
‘तथ्यांकमा देखिएका भारतीय नागरिकहरू यहाँबाट तेस्रो मुलुक मात्र जान्छन् भन्ने होइन,’ अध्यागमन विभागका एक अधिकारीले भने, ‘अधिकांश भारतीय नागरिकहरू यहींबाट आवतजावत गर्ने गरेको तथ्यांकबाट पुष्टि हुन्छ।’ साभार:नेपाली हेडलाइन