वीरगन्ज,२६ जेठःमनसुनजन्य विपद तथा अन्य प्राकृतिक विपदमा उद्धार कार्यमा खटिनेहरुका लागि वीरगन्जमा सशस्त्र प्रहरी बल नेपालको आयोजनामा सोमबारदेखि २१ दिने तालिम सुरु भएको छ ।
वीरगन्ज महानगरपालिकाको संयोजनमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आयोजना गरेको ‘समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम‘को सोमबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समुद्घाटन गरेका हुन् ।
आउदै गरेको मन्सुन तथा मन्सुन जन्य विपद र अन्य किसिमका प्राकृतिक तथा मानव जन्य विपदहरुलाई समेत मध्यनजर गरि विपद उद्धार कार्यमा स्थानिय समुदायको समेत सक्रिय सहभागिता गराउने उदेश्यले यो तालिमको आयोजना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार, तालिममा वीरगन्ज महानगरपालिकाका अग्नि नियन्त्रक,३२ वटै वडाबाट इच्छुक युवा गरी ३० जना सहभागि छन् । उनिहरुलाई सैद्धान्तिक र व्यवहारिक अभ्यासको तालिम दिइनेछ । सैद्धान्तिक तालिम वीरगन्ज महानगरपालिकाकै सभाहलमा तथा व्यवहारिक अभ्यासको तालिम भने महानगरको वारुणयन्त्र महाशाखा, घडिअर्वा पोखरी र सशस्त्र प्रहरीको वीरगन्जस्थित गणमा दिइने सिंहले जानकारी दिए ।
पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको तालिमको समुद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति बृजकिशोर पटेल लगायतकाकोपनि उपस्थिति रहेको थियो ।